arrow

नयाँ निर्देशक नियुक्ति गर्दा स्काउटमा लफडा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
nepal-scout.jpg

काठमाडौँ । नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलय परिसरमा धर्ना दिएको छ । 

समितिले शनिबार कार्यलयमा धर्ना दिएको हो । स्काउटको निर्देशक नियुक्तिका लागि शनिबार सर्टलिस्टमा परेकालाई अन्तर्वार्ताका लागि बोलाइएको थियो । कार्यालयभित्र अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो ।

धर्नामा प्रहरीसँग धकलाधकेल समेत भएको थियो । नेपाल स्काउट शुद्धीकरण समितको संयोजक देवदूत अधिकारीले निर्देशक पदका लागि गरिएको भ्याकेन्सी आह्वान नै गलत भएको बताए । 

बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान गरिएको उनको भनाइ छ । उनले प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचराधीन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने बताए । 

निर्वाचित भएको प्रमुख आयुक्तलाई निःवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्वन गरेर चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टीका लगाएर आयुक्त बनाएको उनको आरोप छ । 

उनले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नका लासग छानविन समितिले बनाएको प्रतिवेदन सार्वजानिक गर्नुपर्ने बताए । प्रतिवेदनको आधारमा दोषीलाई कार्बाही गर्नुपर्ने उनको माग छ ।

उनले भने, ‘निर्देशक पदको लागि भ्याकेन्सी आह्वान गरिएको थियो । जुन निर्देशक पदमा बहालवाला निर्देशक हुँदाहुँदै भ्याकेन्सी आह्वान गरेर आज यहाँ ईन्टरभ्युका लागि बोलाइरहेको छ । यो हामीले मान्यता हुँदैन भनेर भनिरहेका छौँ । अर्को के त भने निर्वाचित भएको प्रमुख आयुक्तलाई यो भन्दा अगाडिको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निलम्वन गरेर तेजुलाल चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टिका लगाएर यहाँको आयुक्त बनाएको छ । अहिले विवादित भएर सर्वोच्च अदालतमा विचाराधीन छ, मुद्दा । अहिले हामीले यहाँ के उठाइरहेका छौँ भने विकृति, विसंगति र भ्रष्टाचार व्याप्त छ । निज निर्देशकले रजीनामा लिइसकेपछि पनि हाम्रो छानविन कमिटी १३ दिनसम्म रिले अनसन र आठ दिनसम्म आमरण अनसन बसेको छानविन कमिटीको प्रतिवेदन सार्वजानिक गर र त्यो प्रतिवेदनको आधारमा कडा भन्दा कडा कारबाही होस् भन्ने हाम्रो माग हो ।’

स्काउटका निःवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकले आफूलाई प्रमुख आयुक्त पदमा निर्वाचन गरे पनि मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै हटाएको बताए । 

कानूनी प्रक्रिया नपुर्याई आफूलाई हटाएर देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएपछि आफूले सर्वोच्चमा मुद्दा हालेको उनले जानकारी दिए । हाल अदालतमा उक्त मुद्दा चलिरहेको अवस्थामा निर्देशक भ्याकेन्सी निकालेर नयाँ नियुक्त गर्न नमिल्ने उनको जिकिर छ । विषम परिस्थितिमा पनि हतारहतार गरेर नियुक्त गर्न खोजिएको उनले दाबी गरे ।

उनले निर्देशकले राजीनामा दिएको भनिए पनि नयाँ निर्देशक चयन प्रक्रियामा समावेश भएको बताए । उनले विज्ञापन निकाल्दाखेरी पनि जालझेल गरेको आरोप लगाए ।

जोइन्ट सेक्रेटरी सरहको पदका लागि विज्ञापन आह्वान गरे पनि न्यूनतम् शैक्षिक योग्यता स्नातक तह राखिएको बताए । उनले आफ्नो मान्छे नियुक्ति गर्नका लागि शैक्षिक योग्यता घटाएको आरोप लगाए।

उनले भने, ‘म प्रमुख आयुक्त पदमा २०८० साल फागुन १३ गते राष्ट्रिय परिषद्को , राष्ट्रिय परिषद् भनेको नेपाल स्काउटको सर्वोच्च निकाय । निर्विाचित पदाधिकारी बस्ने ठाउँ, नेपालको प्रतिनिधि सभाजस्तै हो, नेपाल स्काउटका लागि । त्यो बैठकले नियुक्ति गरेको माननीय युवा तथा खेलकुद मन्त्री डीगबहादुर लिम्बूले मलाई दफा १६ अनुसारको चार वर्षका लागि भनेर नियुक्ती गरेको प्रमुख आयुक्त पदमा । तर पछिल्लो मन्त्री तेजुलाल चौधरीद्वारा एक वर्ष नपुग्दै मलाई हटाइयो । कानूनी प्रक्रिया नपुगकिन हटाइयो । अहिले उहाँको आफ्नो मान्छे देवराज घिमिरे भन्नेलाई कानूनी प्रक्रिया नपुर्याईकन प्रमुख आयुक्त बनाइएको छ । त्यो हुनाले मैले मुद्दा हालेको छु । मेरो मुद्दा चलिरहेको छ । त्यसकारण मेरो भनाइ के हो भने यो निर्देशक भ्याकेन्सी निकालेर अहिले यो जुन विषम परिस्थितिमा पनि हतारहतार गरेर यो नियुक्त गर्न खोजिएको छ, त्यो मिलेको छैन । कानुन प्रक्रिया मिलेको छैन भन्ने हाम्रो भनाई हो । निर्देशकले राजिनामा दिएको भने छ तर अहिले माथि ईन्टरभ्यूमा बसिरहेको छ । यो एकदम सुशासनको गलत भो । अर्को कुरा के हो भने विज्ञापन निकाल्दाखेरी जोईन्छ सेक्रेटरी सरहको पद भनिएको छ । भनेको नेपाल सरकारको सहसचिव स्तरको पद हो । सहसचिवस्तको पदका लागि न्यूनतम् शैक्षिक योग्यता भनेको ८÷१० वर्ष अनुभवी, उपसचिवमा बसको र स्नाकोतर गरेको हुनुपर्छ । यहाँ विज्ञापनमा के भनिएको छ भने आफ्नो मान्छे ल्याउनका लागि स्नातक भनिएको छ ।’

उनले हाल सर्ट लिस्टमा नाम निकालेको अर्पण कार्की परीक्षा हुनुभन्दा एक दिन अगाडिसम्म स्काउटको कार्यालयमा आउने गरेको आरोप लगाए । कार्की प्रमुख आयुक्त घिमिरे र निर्देशक रामप्रसाद भट्टराईको आफ्नै साथी रहेको उनको दाबी छ । 

उनले आफ्नै साथी भएपछि प्रश्नपत्र बाहिरिँदैन भन्ने प्रश्न समेत उठाए । उनले निर्देशक पदको लिखित परीक्षा र अन्तर्वार्ता रोक्नुपर्ने बताए । उनले राष्ट्रिय शतर्कता केन्द्रमा पनि आफूहरूले उजुरी दिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ