arrow

इजरायलद्वारा पछिल्लो बन्धक अवशेष पहिचान,अझै पाँच शव फिर्ता गर्न बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
palestine-bandi.jpg

काठमाडौं। इजरायलले शनिबार प्यालेस्टिनी लडाकुहरूले गाजाबाट फिर्ता पठाएको पछिल्लो बन्धकको अवशेष पहिचान गरेको छ। यससँगै दुई वर्षको युद्ध रोकिएको अमेरिकी मध्यस्थतामा भएको हमास र इजरायलबीचको युद्धविराम अन्तर्गत अब थप पाँच शव मात्र फिर्ता गर्न बाँकी छ।

इजरायली सेनाले शुक्रबार हस्तान्तरण गरिएको शव स्वयंसेवक एम्बुलेन्स चालक लियोर रुडेफको भएको पुष्टि गरेको छ, जो सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणमा मारिएका थिए। शनिबार पहिचान भएको अवशेष अर्जेन्टिनी मूलका इजरायली नागरिकको थियो, जो अक्टोबर ७ को आक्रमणको समयमा ६१ वर्षका थिए र आफ्नो समुदाय निर यित्जाक किबुट्जको रक्षा गर्ने प्रयास गर्दा मारिएका थिए।

हमासले अक्टोबर युद्धविरामको सर्तहरू अन्तर्गत फिर्ता गर्न सहमत भएकामध्ये अहिलेसम्म २३ मृत बन्धकको अवशेष र २० जीवित बन्धकहरूलाई फिर्ता गरिसकेको छ। सम्झौता अन्तर्गत फिर्ता गर्न बाँकी पाँच शवमध्ये तीन इजरायली र एक थाई गरी चार अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएका व्यक्तिका हुन् र अर्को एक सन् २०१४ मा अघिल्लो गाजा द्वन्द्वको क्रममा मारिएका एक सिपाहीको अवशेष हो।

इजरायली परिवारहरूको प्रतिनिधित्व गर्ने अभियान समूह ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ ले मृतक रुडेफको फिर्तीले परिवारलाई केही हदसम्म सान्त्वना दिएको भन्दै "हामी अन्तिम बन्धकलाई घर नल्याएसम्म आराम गर्ने छैनौं" भनी प्रतिबद्धता व्यक्त गरेको छ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरेको युद्धविराम सम्झौता अन्तर्गत, प्रत्येक मृत इजरायली बन्धकको लागि १५ मारिएका प्यालेस्टिनीहरूको शव फिर्ता गरिन्छ। शनिबार इजरायलले नियन्त्रणमा लिएको गाजा पट्टीबाट १५ जना शहीदहरूको शव आइपुगेको घोषणा गरियो, जससँगै फिर्ता गरिएका मृत प्यालेष्टिनीको सङ्ख्या ३०० पुगेको छ। तथापि, हमासको अख्तियार अन्तर्गत सञ्चालन हुने गाजाको स्वास्थ्य मन्त्रालयले प्राप्त ३०० शवहरूमध्ये अहिलेसम्म ८९ जनाको मात्र पहिचान भएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ