वर्षौंको बक्यौता नपाएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनमा, उद्योगको गेटमा धर्ना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
746
Shares
सर्लाही। सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले किसानहरूलाई विगत वर्षहरूदेखिको उखुको भुक्तानी नदिएपछि उनीहरू पुनः आन्दोलनमा उत्रिएका छन्। उद्योगले आफ्नो बक्यौता रकम नतिरेको भन्दै किसानहरूले आइतबारदेखि उद्योगको गेटमै धर्ना सुरु गरेका छन्। किसानहरूले आर्थिक वर्ष २०७०/७१ देखि नै उखुको रकम भुक्तानी नपाएको गुनासो गरेका छन्।
उखु किसानका अगुवा राम आधार राय यादवले उद्योगको बेइमानी र उदासीनताविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताएका छन्। उनका अनुसार अन्नपूर्ण चिनी उद्योगले २०७१ सालदेखिको करिब ९ करोड ७० लाख रुपैयाँ किसानलाई तिर्न बाँकी छ। २०८० साल फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगपतिले २०८१ साल जेठ मसान्तभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको किसानहरूको गुनासो छ।
यता, अन्नपूर्ण चिनी उद्योगका प्रशासकीय प्रमुख रमेश प्रसाद श्रीवास्तवले भने फरक धारणा राखेका छन्। उनले पुरानो भुक्तानीसम्बन्धी मुद्दा अहिले सर्लाही जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको बताए। उनका अनुसार सन् २०७७ सालमा उद्योगपति शैलेन्द्र गुप्ताले पूर्वस्वामी राकेश अग्रवालबाट उद्योग खरिद गरेकाले पुरानो मालिकको समयमा भएको बक्यौता रकम कसले तिर्ने भन्ने विषयमा कानुनी विवाद चलिरहेको छ। श्रीवास्तवले गत वर्ष मिल सञ्चालन गर्दा उखुको मूल्य तोकिएको थिएन र उत्पादन (रिकोभरी) पनि अपेक्षाकृत कम आएकोले उद्योग आर्थिक संकटमा परेको बताए।
तर, किसानहरूले उद्योगका यी कारणहरूलाई 'बहाना' भन्दै अस्वीकार गरेका छन्। उनीहरूले उद्योगले विगतमा पनि पटक पटक आश्वासन दिएर धोका दिँदै आएको आरोप लगाएका छन्।