मुहान खुलाउन खानेपानी मन्त्रालय र मेलम्ची सङ्घर्ष समितिबीच पुनः छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
872
Shares
काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउनका लागि खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिबीच आज पुनः छलफल भएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार मन्त्रालय र सङ्घर्ष समितिबीच विगतमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको हो।
आइतबार मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यको अध्यक्षतामा भएको छलफलमा कार्यकारी निर्देशक दास, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि, सरोकारवाला निकाय, राजनीतिक दल र जेनजीका प्रतिनिधि सहभागी थिए।
सङ्घर्ष समितिले काठमाडौँले मेलम्चीको पानी उपभोग गरेबापत् स्थानीय हेलम्बु गाउँपालिकालाई २५ प्रतिशत लाभांश दिने सहमति कार्यान्वयन गर्न माग गर्दै आएको छ। यसै मागलाई दबाब दिन स्थानीयले गत बिहीबार मेलम्चीको पथान्तरण गरिएको क्षेत्र अम्बाथानको सुरुङमा एक्स्काभेटर प्रयोग गरी मेलम्ची खोलाको पानी खोलातिर फर्काएका थिए।
यसअघि, विसं २०८१ असोज २१ गते सङ्घर्ष समिति र तत्कालीन खानेपानी मन्त्री प्रदिप यादवबीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरूको ऋण मिनाहा गर्न तथा विद्युत् महशुल जरिवानासहितको मिनाहा गर्न, हेलम्बु गाँउपलिकामा प्राविधिक इन्जिनियरिङ कलेज स्थापना गर्न पहल गर्ने, जोखिममा रहेका सार्वजनिक संरचाना तथा बस्ती सुरक्षासम्बन्धी एकीकृत विकास कार्यक्रम तथा नयाँ शहरका रूपमा विकास गरी तत्काल अध्ययन कार्य अगाडि बढाउन शहरी विकास मन्त्रालयमार्फत पहल गर्ने लगायतका सम्झौता भएका थिए।
यस्तै, २०७८ असार १ गते तथा साउन १६ र १७ गतेको बाढीले बगरमा परिणत भएको जग्गा (जहाँ भविष्यमा विपद् पुनः दोहोरिने जोखिम छ) सङ्घीय सरकारले स्वामित्वमा लिई दुवै पक्षको सहमतिमा तत्कालीन दररेटमा मुआब्जा उपलब्ध गराउने व्यवस्था गर्न विशेष पहल गर्ने र विभिन्न स्थानमा वैकल्पिक सडकको आवश्यक प्रक्रिया सुरु गर्नेलगायतका विषय पनि सम्झौतामा उल्लेख थिए।