सामाजिक-आर्थिक रूपान्तरणको महाअभियानमा सहभागी हुन अपील [अपीलसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
3.3k
Shares
काठमाडौँ । गतिशील लोकतान्त्रिक पार्टीले सामाजिक-आर्थिक रूपान्तरणको महाअभियानमा सँगसँगै सहभागी हुन आह्वान गरेको छ । निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएलगत्तै सो पार्टीले यस्तो आह्वान गरेको हो ।
पार्टी अध्यक्ष डा. दिनेश प्रसाईंले एक अपील जारी गर्दै नेपाल अहिले एउटा गम्भीर अक्करमा र विग्रहतर्फ मोडिने खतरामा रहेको उल्लेख गरे।
अपीलमा भनिएको छ, ‘हामी सबै नेपालीका वीर पुर्खाको दुःख र श्रद्धेय शहीदहरूको वलिदानले नागरिकलाई अधिकारसम्पन्न बनाई जिम्मेवारी सुम्पिएको यो सुन्दर देश नेपाल अहिले एउटा गम्भीर अक्करमा छ । अक्कल पुर्यायौँ भने हामी यो अक्कर पार गरेर शिखरतर्फको यात्रामा अघि बढ्न सक्छौँ । नत्र हेर्दाहेर्दै देश अकल्पनीय विग्रहतर्फ मोडिने खतरामा छ ।’
साथै उनले संघीय तथा प्रादेशिक तहका आम निर्वाचनमा कम्तीमा २० प्रतिशत मत वा सिट नल्याई सरकारमा सामेल नहुने पार्टीको नीति रहेको स्पष्ट पारे । रचनात्मक प्रतिपक्ष हुन पाउनु नागरिकका दुःखसुखसँग एकाकार हुन पाउनु भएको भन्दै अध्यक्ष प्रसाईंले नआत्तिई र नमात्तिई राजनीति गर्ने अपीलमा उल्लेख गरे ।
उनले राजनीतिक पार्टी साधन भएको भन्दै बडो सोचविचार र जिम्मेवारीका साथ नेपाललाई समृद्ध, समतामूलक, स्वाभिमान राष्ट्र बनाउने उद्घोष गरे । यसका लागि उपयुक्त विधि, सुशासन, उद्यमशीलता र समावेशिता आवश्यक पर्ने उनले बताए ।
अध्यक्ष प्रसाईंले सकारात्मक सामाजिक-आर्थिक रूपान्तरणसहित बस्न योग्य र गर्व गर्न लायक राज्य सञ्चालन गर्ने ज्ञान, सीप, क्षमता र योजना रहेको भन्दै वर्तमान र भविष्य निर्माणका लागि सान्दर्भिक राजनीतिक दल भएको स्पष्ट पारे ।