arrow

कांग्रेस युवाको नेतृत्वलाई चेतावनी: ‘विशेष महाधिवेशन नभए वैकल्पिक बाटो खोज्छौँ’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
congress-bhella.jpg

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्वलाई तत्काल विशेष महाधिवेशनको निर्णय लिन चेतावनी दिएका छन्। केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय नगरे वैकल्पिक बाटो खोज्ने उनीहरूको स्पष्ट सन्देश छ।

काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर युवा भेलामा नेतृत्वको ढिलासुस्ती र अनिर्णयप्रति आक्रोश पोख्दै युवाहरूले पार्टीभित्र परिवर्तनको मागलाई तीव्र बनाएका छन्।

युवा नेता सचिन तिमिल्सिनाले केन्द्रीय बैठकहरू डेढ–दुई महिनासम्म लम्ब्याउने प्रवृत्तिमाथि आपत्ति जनाउँदै, “पुग्यो हामीलाई यस्तो नेतृत्व। नाटक बन्द गरौँ!” भने। उनले देशमा १९ जना मारिँदा पनि केही नभएजस्तो गरेर बैठक लम्ब्याउने हो भने युवाहरूले पनि विकल्प सोच्ने चेतावनी दिए।

अर्का युवा नेता मोती भण्डारीले एउटा व्यक्तिको वरिपरि शक्ति केन्द्रित गर्ने र परिवर्तन रोक्ने नेताहरूमाथि आक्रोश व्यक्त गरे। उनले केन्द्रीय बैठक चलिरहँदा पनि अनिर्णयको बन्दी बनाउने हो भने निर्वाचन वा महाधिवेशनमा तल्लो तहका कार्यकर्ताले नेतृत्वको हिसाव माग्ने चेतावनी दिएका छन्।

यसैगरी, महाधिवेशन प्रतिनिधि पूनम लामाले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग विधानसम्मत रहेको स्पष्ट पारिन्। उनले विशेष महाधिवेशन नै रूपान्तरणको एक मात्र विकल्प भएको बताइन्।

कांग्रेस युवाले नेतृत्वलाई विशेष महाधिवेशनको प्रक्रिया तत्काल अघि बढाउन दबाब दिएका छन्। अन्यथा पार्टीभित्र नयाँ बाटो खोज्ने उनीहरूको चेतावनीले कांग्रेसभित्र नयाँ तरंग सिर्जना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ