निर्वाचनअघि नै महाधिवेशन गर्नका लागि सभापति देउवामाथि कांग्रेस नेताहरूको दबाब [भिडियो]
चुनावअघि नै महाधिवेशन गर, सच्चिएको कांग्रेसको सन्देश देउ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
1.1k
Shares
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडान राख्दै पार्टी सभापति शेरबहादुर देउवालाई आवश्यक निर्णय लिन दबाब दिएका छन्।
केन्द्रिय सदस्यद्वय तारामान गुरुङ, प्रतिमा गौतम र महाधिवेशन प्रतिनिधि सीता मिजारले सभापति देउवाले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय लिने विश्वास व्यक्त गरेका छन्। सिंगापुरबाट उपचारपछि स्वदेश फर्कनुभएका सभापति देउवाले निर्वाचनमा जाने तयारीका साथ छलफल अघि बढाइरहेको समाचार आउन थालेको छ।
केन्द्रीय सदस्य तारामान गुरुङले विधानसम्मत ढङ्गले महाधिवेशन गरेर मात्रै निर्वाचनमा जानुको विकल्प नरहेको जिकिर गरे। उनले सभापति देउवाले गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक शुभारम्भ गर्ने क्रममा समयमा नै महाधिवेशन गर्ने मत राखेको र सोहीअनुसार पार्टीले पहिला महाधिवेशन गर्ने निर्णय गर्नेमा आफूहरू विश्वस्त रहेको बताए। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि (सोमबार) अपरान्ह २ बजे बोलाइएको छ।
अर्की केन्द्रीय सदस्य प्रतिमा गौतमले मुलुकले जेन–जी आन्दोलनपछि सुधारिएको कांग्रेस खोजेको भन्दै निर्वाचनभन्दा पछाडि महाधिवेशन गरेर जाँदा पार्टीलाई क्षति पुग्ने बताइन्। उनले जनतामा भोट माग्न जान पनि कांग्रेसले महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्व लिएर जानुपर्ने अवस्था आएको बताइन्। नेतृ गौतमले निर्वाचनपछिको महाधिवेशनको कुनै अर्थ नरहेको समेत बताइन्।
महाधिवेशन प्रतिनिधि सीता मिजारले निर्वाचनअघि महाधिवेशन गर्नु नै पार्टीको वैधानिक बाटो भएको उल्लेख गरिन्। उनले कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको ५५ प्रतिशतले महाधिवेशन पुस मसान्तभित्र गर्नुपर्ने माग गरेको र सोही माग वैधानिक भएकाले त्यसै अनुसार निर्णय गर्न उपयुक्त हुने धारणा राखिन्। महाधिवेशन प्रतिनिधि मिजारले आम निर्वाचनमा सबल ढंगले अघि बढ्न पनि महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्वका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताइन्।
संस्थापनइतरका नेताहरूले महाधिवेशनलाई छलेर निर्वाचनमा जाने निर्णय गरिए आफूहरू सो निर्णय मान्य पक्षमा नरहेको जिकिर गरेका छन्।