तनहुँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई मतदान केन्द्र थप गर्ने निर्णयसहित निर्वाचन आयोगमा सिफारिस गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आइतबार बसेको बैठकले जिल्लामा दुई मतदान केन्द्र थप गर्ने निर्णयसहितको सिफारिस निर्वाचन आयोगमा पठाएको हो।
प्रमुख जिल्ला अधिकारी अधिकारीले ऋषिङ गाउँपालिकाले सिफारिस गरेअनुसार, ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरिएको जानकारी दिए।
उनले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक/एक मतदान केन्द्र रहेकामा थप एक/एक मतदान केन्द्र थप्न आवश्यक रहेकाले सोही बमोजिम आयोगमा पठाइएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले उक्त ठाउँको केही दिनअगाडि निरीक्षण समेत गरेको थियो।
हाल तनहुँका दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन्। त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार नौ सय १५ जना रहेको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले मतदाता नामावली दर्ताका लागि कार्यालयमा दैनिकजसो भीड रहेको जानकारी दिए। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यालयले आवश्यक तयारी सुरु गरिसकेको उनको भनाइ छ।