आन्दोलित किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिनाभित्र भुक्तानी दिइने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
726
Shares
सर्लाही। सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको पहलमा आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमार्फत दुवै पक्षबीच सहमति जुटेको हो।
प्रशासनले जानकारी दिएअनुसार, सहमतिमा उद्योगले गत वर्ष चिनी मूल्य निर्धारणपछि किसानलाई दिन बाँकी रहेको रकम पूर्णरूपमा भुक्तानी गर्ने सहमति भएको छ। किसानहरूको दाबीअनुसार २०७१/०७२ को क्रसिङ सिजनदेखि नै करिब नौ करोड ७० लाख रुपैयाँ बराबरको रकम बक्यौता रहेकोमा, अघिल्ला सञ्चालक राकेश कुमार अग्रवालले त्यो बाँकी रकम एक महिनाभित्र भुक्तान गर्ने सहमति भएको छ।
त्यसैगरी, छलफलमा उद्योगले चालु वर्षको क्रसिङ प्रक्रियामा देखिने प्रदूषण नियन्त्रणका लागि उपाय अपनाउने प्रतिबद्धता जनाएको छ। उद्योग सञ्चालन सहज बनाउने उद्देश्यले दुवै पक्षले सहयोगी वातावरण बनाउने सहमति पनि भएको छ। उखु बिक्री रकम माग गर्दै किसानहरूले गत आइतबारदेखि उद्योगको मुख्य गेटमा तालाबन्दीसहित धर्ना गर्दै आएका थिए। सहमतिपछि धर्ना बन्द गरिएको छ।