काठमाडौं महानगरको राजस्वमा वृद्धि: चार महिनामा तीन अर्ब २२ करोड संकलन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
810
Shares
काठमाडौं। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को कात्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गतवर्षको सोही अवधिमा संकलन भएको ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो। गत आवमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा यस वर्ष १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ असुली हुने प्रक्षेपण गरिएको छ।
यद्यपि, चालु आवको यस अवधिमा आन्तरिक करतर्फ १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ, जुन गत वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ कम हो। राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार आन्तरिक राजस्व घट्नुको मुख्य कारण सम्पत्ति कर शीर्षक हो। गत वर्ष पहिलो चौमासिकमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्ष सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँमा झरेको छ।
प्रमुख अधिकारीले यसको कारण स्पष्ट पार्दै भने, “गत वर्षको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि त्यस अवधिमा बढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गर्ने भनियो। यसरी समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो।”
सम्पत्ति कर घटे पनि बहाल करमा भने उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलन भएकोमा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रुपियाँ संकलन भएको छ। बहाल कर बढ्नुको कारण बताउँदै अधिकारीले २०८२ जेठ २० गते सर्वोच्च अदालतको फैसलापछि बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएकोले साविकमा सङ्घ सरकारले उठाउँदै आएको कर महानगरपालिकामै जम्मा हुन थालेको बताए।
यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ। गत वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ असुली भएको छ। तर, सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै भवन नक्सा शुल्कबाट संकलन हुँदै आएको रकम भने घटेको छ। गत वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ।