arrow

झाँक्री फर्किन्, जनता हेरेको हेर्‍यै

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
rajendra-panthi-82-8-4final.jpeg

नेपाली राजनीतिमा रामकुमारी झाँक्री बहसमा आउनु र उनका बारेमा चर्चा गरिनु कुनै नौलो विषय होइन । उनको राजनीतिक जीवनको इतिहासमा लुकेका कुरा पनि खासै केही छैनन् होला जस्तो लाग्छ । यहाँ मैले उनीजस्तो सार्वजनिक छवि भएकी पात्रले समय समयमा राजनीतिक दल परिवर्तन गरी कहिले कता जाँदा र कहिले कता फर्कदा सामाजिक मनोविज्ञानमा के कस्तो प्रभाव परिरहेको हुन्छ भन्ने कुरोलाई चर्चाको विषय बनाउने प्रयत्न गर्दैछु ।

रामकुमारी झाँक्रीको २०४६ पछि  बहुदलीय व्यवस्थाको संस्थागत विकासदेखि गणतन्त्र प्राप्तिको आन्दोलनसम्ममा नेतृत्वदायी भूमिका रहेको थियो । नेपालजस्तो पित्तृसत्ताको परम्परा रहेको समाजमा एउटी महिलाले सामाजिक न्याय,समानता,स्वतन्त्रता र जनअधिकारको लागि आन्दोलनको नेतृत्व गरिनु अत्यन्तै सराहनीय काम हो । 

सायद नेपाली आमसञ्चार र सन्जालमा पनि महिला नेतृको रुपमा सबैभन्दा प्राथमिकता पाइरहेकी पात्र रामकुमारी झाँक्री नै हुन्।उनको आफ्नो वैयक्तिक क्षमता,हक्की स्वभाव, बोलक्कड,आक्रोशयुक्त भाषण,अपरिपक्व बोली आदि कारणले बेलाबेलामा प्रशंसित र आलोचित पनि भइरहन्छिन् ।

म रामकुमारी झाँक्रीलाई व्यक्तिगत रुपमा चिन्दिनँ तर उनको राजनीतिक जीवनलाई नजिकबाट चिन्ने,सुन्ने र पढ्ने मौका पाएको छु।उनी कुनैबेला नेपाली राजनीतिको अत्यन्तै आशावादी महिला नेतृ भनेर चिनिन्थिन् ।

आमसञ्चार र सञ्जालमा उनका आँसु, हाँसो, सुख, दु:ख, पढ्न, हेर्न र सुन्न पाइन्छ । नेपाली राजनीतिमा एउटी आशावादी महिला नेतृ हुनाले नेपाली मिडियाहरूले निकै प्राथमिकता दिएका पनि छन् । समय समयमा नेपाली मिडियामा उनका आश्वासन,आक्रोश,आँसुले राम्रै चर्चा पाएका पनि हुन्छन् । 

नेपाली जनताले उनले बोलेका कुरालाई चासो दिएर सुनेका पनि हुन्छन् तरउनी कहिलेकाहिँ बहकिएर असान्दर्भिक र अराजनीतिक शैली र सन्दर्भहरू पनि उठान गर्छिन् । नेपालको राजनीतिक इतिहासमा कुनैबेला उनले गरेको त्याग र योगदानलाई अवमूल्यन गर्न भने सकिँदैन । तर उनले अहिले पनि त्यसैको व्याज र स्याजसमेत खाने प्रयत्न गरिरहेकी हुन् कि भन्ने देखिन्छ ।

हरेक मान्छेको जीवनमा देखिने उतारचढाव जस्तै झाँक्रीको राजनीतिक जीवनमा थुप्रै उतारचढाव देखिन्छ्न् । उनी सार्वजनिक व्यक्ति र त्यसमा पनि एउटी बोलक्कड महिला नेतृ हुनाले उनका जीवनका आरोह अवरोहले समाजलाई एउटा निश्चित बिन्दुसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेकै हुन्छ । 

उनको राजनीतिक जीवनको उठान बैठानसँग धेरै नेपालीहरूका दैनिकीहरू जोडिएका हुन्छन् । उनको तत्क्षणिक एउटा व्यक्तिगत निर्णयले समाजलाई ठूलो प्रभाव पार्छ । उनले कसैलाई ख्यालै नगरे पनि वा नदेखेझैँ गरे पनि उनी कतै जाँदा र फर्कदा दुनियाँले उनलाई हेरिरहेका हुन्छन् । 

देशको मुख्य नीति भनेको राजनीति हो । राजनीतिमा नेतृत्वकै महत्त्वपूर्ण भूमिका हुन्छ । रामकुमारी झाँक्री पनि युवा उमेरमै नेपाली राजनीतिको केन्द्रमा पुग्न सफल एक महिला नेतृ हुन् । यसैले पनि नेपाली समाजले उनका हरेक गतिविधिलाई निकै ख्याल गरेर हेरिरहेको हुन्छ । 

सार्वजनिक छवि भएको व्यक्तिका बारेमा बहस,आलोचना, टिप्पणी हुनु स्वभाविकै हो । देशको राजनीतिक जिम्मेवारी हासिल गरेकी व्यक्तिका बारेमा मजस्तो सर्वसाधारण नेपालीले चासो राख्नु पक्कै पनि असान्दर्भिक नहोला ।

झाँक्रीकै शब्दलाई सापट लिएर भन्नुपर्दा उनी भर्खरै चार वर्षसम्म नेकपा समाजवादीमा अल्झिएर वा अल्मलिएर पुनः माउ पार्टी नेकपा एमालेमा फर्किएकी छिन् र उनी घर फर्केकी छन् । झाँक्री जब निर्वाचनमा पराजित भइन्, त्यसैबेलादेखि आफूले विद्रोह गरेर बनाएको नयाँ दलप्रति नै असन्तुष्ट देखिन्थिन् । उनले आज सम्झेकी होलिन्-म गएँ अनि फर्केँ,किन कसको टाउको दुखाउनु पर्यो र ? 

उनी सार्वजनिक व्यक्ति हुनाले दुनियाँको टाउको दुख्नु अनौठो कुरा पक्कै होइन । खासगरी उनी निर्वाचनमा नेकपा समाजवादीबाट प्रतिस्पर्धा गर्दा गुल्मेली एमालेलाई फुटाइन् । उनी निर्वाचनमा प्रतिस्पर्धा गर्दा मतदातालाई आफ्नो स्वार्थका लागि सामाजिक र राजनीतिक विभाजन गराइन् । दाजुभाइ,दिदीबहिनी, बाबुछोरा, गुरुचेला र छरछिमेकी बीचमा बेमेल सिर्जना गराइन् । 

एमालेमा आस्था राख्नेहरूलाई खड्गप्रसाद ओलीका बारेमा अनेक किसिमका लाच्छ्ना, आरोप र गाली गरेर एमालेका कार्यकर्तालाई एकापसमा फुटाइन् । त्यसको असर गुल्मेली जनताले आजसम्म भोगिरहेका छन् । उनी उता र यता गर्दा समाजलाई जुटाइनन् बरु फुटाइन् । उनी त सजिलै जोडिइन् तर उनकै कारणले फुटेका मतदाताका मन आजसम्म अझै जुटेका छैनन् । 

उनीजस्ता नेता र नेतृत्वहरूका क्रियाकलापहरूले नेपाली समाजमा सामाजिक र राजनीतिक बेमेल र अराजकता बढ्दै गएको हो । नेतालाई जुट्न र फुट्न कुनै नैतिकताले काम गर्दोरहेनछ तर जनतामा त नैतिकता हुन्छ भन्ने कुरालाई बुझ्नुपर्छ । नेपाली समाजका हरेक गतिविधिमा चरम राजनीतिकरण हुने हुनाले फुटेका मनहरू पुन:पुरानै अवस्थामा जोडिन अत्यन्तै गाह्रो हुन्छ । नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थका कारणले जुट्ने र फुट्ने परिपाटीले नेपाली समाजलाई अत्यन्तै गाह्रो बनाइरहेको छ ।   

अहिले रामकुमारी झाँक्रीले एमालेमा फर्केर ओलीको प्रशंसा गरिरहँदा एकैछिन उनका विगतका गतिविधि स्मरण गर्न सकिन्छ र केही प्रश्नहरू पनि उठ्छन् । के नेता भनेको मन र मस्तिष्क नै नभएको प्राणी हो र ? के उसले कालो र गोरो कहिल्यै छुट्याउन सक्दैन ? समाजले पनि आफू अनुकूल उता गएँ अनि यता आएँ भन्नेलाई स्वीकार्दै जाने हो र ? के नेपाली समाज जहिले जसको पनि ताली पिट्न र गोटी बन्न तयार भइरहने हो र ? 

उनले हिजो ओली र विद्याविरुद्ध बोलिएका भाषा र भाषणहरू सुन्न नसकिने अत्यन्तै असभ्य,अशिष्ट,अमर्यादित र सीमारहित थिए । आज उनैले किन र कसरी ओली सबैभन्दा राम्रो नेता भनिरहेकी छिन् ? के यसलाई समाजले हो मा हो नै मिलाउने मात्र हो र ? उनले हिजो ओली ठीक होइनन् भन्दा पनि ताली पिट्ने अनि आज ओली गज्जब राम्रा मान्छे हुन् भन्दा पनि ताली पिट्ने । के यो राम्रो कुरा हो र ?

हामी नेपालीहरू कहिलेसम्म मन र मस्तिष्क नै नभएजस्ता केवल ताली मात्र पिटिरहने अबुझ र अविवेकी प्राणी बनिरहने हो र ? नेपाली जनताका यस्तै कमीकमजोरीको फाइदा उठाएर उनीहरू एकापसमा टुक्रिदा समाजलाई पनि नराम्ररी टुक्र्याएका छन् । आज झाँक्रीजस्ता अवसरवादी, स्वार्थी, अनैतिक र राजनीतिक भ्रष्टाचारीका कारण नेपाली समाज निकै तरल अवस्थामा पुगेको छ ।

नेपाली समाज यिनी र यस्तै नेताका कारण छिन्नभिन्न र बिथोलिन पुगेको छ । नेतृत्व कहिले कता र कहिले कता जाने अनि फर्किने अनैतिक र अनुशासनहीन चरित्रले नेपाली समाजमा रहेको सामाजिक मर्यादा, सम्बन्ध, सहारा र भरोसा टुटिरहेको छ । केही सीमित नेताका स्वार्थले कहिले पार्टी फुट्छ, कहिले जुट्छ अनि कहिले एउटा सिङ्गो पार्टी नै अर्को पार्टीमा मिल्यो भनिन्छ । के कुनै राजनीतिक पार्टी भनेको कुनै खास व्यक्तिको निजी कम्पनी हो र ?

झाँक्रीको गुल्मी जिल्लाकै २०७९ को निर्वाचनको कुरा गर्ने हो भने हिजो उनले एमाले फुटाएर एमाले विरुद्धको गठबन्धन बनाएर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहित कलम चुनाव चिन्ह भन्दै एमाले समर्थक मतदातालाई फुटाइन् ।

आज झाँक्रीले आफ्नो कलम ओलीलाई बुझाइन् भने माधवकुमार नेपालले सिङ्गो पार्टीलाई नै प्रचण्डलाई बुझाए । हिजो नेतृत्वकै विश्वास,आशा र लहडमा मतदातालाई फुटालियो र फुटे । निर्वाचनका क्रममा नेकपा एमाले र एमालेका नेता गोकर्ण विष्टविरुद्ध झाँक्री अराजनीतिक तरिकाले जाइलागिन् ।

आज आएर तीन वर्ष नबित्दै गुल्मीको सदरमुकाम तम्घासमै शहीद शमशेरबहादुर खत्रीको सालिक अगाडि त्यही पुरानै अनुहार लिएर एमालेकी नेतृ बनेर देखा परिन् । हिजो नेकपा समाजवादीलाई साथ दिनेहरू बीचबाटोमा अलपत्र भई अल्मलिएका छन् तर झाँक्री फर्किन् । 

आज झाँक्रीलाई सास र साथ दिने जनताहरू हेरेको हेरै भएका छन्।यद्यपि यहाँ मैले रामकुमारी झाँक्री एमालेमा फर्कनु हुँदैनथ्यो भन्न खोजेको होइन।एउटा नेता कहिले यता र कहिले उता गर्दा समाज तरङ्गित,अलपत्र र अल्मलिएको हुन्छ भन्न खोजेको हुँ।अब समाजले यस्ता नेतालाई के आधारमा किन र कसरी विश्वास गर्ने भन्ने महत्त्वपूर्ण प्रश्न उठाउनु पर्छ।

हिजो तिनै झाँक्रीले ओलीको चुनाव चिन्ह त्रिशुल, प्रदीप ज्ञवालीको चुनाव चिन्ह चिप्लेकिरा र अरू अरूको के के भन्थिन् । नेता वा नेतृ भन्दैमा जतिबेला जेजे गर्न, भन्न र बोल्न पाइन्छ र ? के राजनीतिमा संस्कार भन्ने शब्द हुन्न र ? आज यिनै झाँक्रीहरू जस्ता लोभी, स्वार्थी, पदलोलुप, राजनीतिक भ्रष्टाचारीले गर्दा देशमा यति ठूलो विषम परिस्थिति सिर्जना भएको हो भन्नलाई केही सङ्कोच मान्नु पर्दैन ।

नेताका घर जल्दा कार्यकर्ता रमिते हुनु,छिमेकीको घर सम्पत्ति जल्दा छिमेकी नै मूकदर्शक हुनु,देशका धरोहर ध्वस्त हुँदा राज्य संयन्त्रले टुलुटुलु हेरेर बस्नु भनेको नेपालीको मनोभावना र सामाजिक सम्बन्ध टुट्नु होइन र ? आज नेपाली समाजमा सामाजिक बेमेलको सिर्जना गराउने एउटा प्रमुख कारक तत्व भनेको हरेक कुरामा चरम राजनीतिकरण गरिनु हो । यस्तो विचार,सिद्धान्त,निष्ठा बिनाको झोले राजनीतिले नेपाली समाजलाई नराम्ररी गालिरहेको छ।

यहाँ मैले नेपाली राजनीतिमा आजको विषम परिस्थिति  सिर्जना गर्ने प्रमुख पात्र रामकुमारी झाँकी नै हुन् भन्न खोजेको चाहिँ होइन । यिनी पनि एउटा प्रतिनिधि पात्र हुन् । रामकुमारी झाँक्री कुनै खास सर्वसाधारण व्यक्ति मात्र नहुनाले र मिडियामैत्री पात्र हुनाले उनलाई एउटा प्रतिनिधि रुपमा अगाडि सारेको हुँ ।

उनले बोलेका र भनेका हरेक कुराले समाजलाई प्रभाव र असर पारिरहेको हुन्छ।राजनीतिमा विवेक,सिद्धान्त,निष्ठा भन्ने हुन्छ । हिजो उनी एमालेबाट छुट्टिदा समाजलाई पनि छुट्टाइन।एमाले समर्थक बनेर रहेका नागरिकहरूका एकआपसका मन भाँचिदिइन।उनकै कारण मतदाताका एकआपसमा मन भाँचिएर अझै जोडिन सकेका छैनन्।उनलाई जता फर्के पनि भयो तर आम जनतालाई जता फर्कन पनि नैतिकता र विवेकले मान्दैन।यसरी नेतृत्व नै बारम्बार कहिले कता र कहिले कता फर्कदा सामाजिक र राजनीतिक अराजकता निम्तिन्छ।

उनले भर्खरै एउटा टेलिभिजन कार्यक्रममा पनि ओलीकै सवालमा कति सजिलै उत्तर दिइन् -ओलीले गल्ती गरे भनेर छुट्टियौँ । हामी छुट्टिएको जनताले अनुमोदन गरेनन् अनि फर्कियौँ रे । हिजो जाने बेलामा राजनीतिक चरित्र र संस्कार देखाई राजनीतिक विचारधारासहित गएकी भए पनि आज यति धेरै आलोचित अनि गाली खानुपर्ने त थिएन र यति धेरै अविश्वास गर्नुपर्ने पनि थिएन ।

खासमा एमालेमा आस्थावान राख्ने कार्यकर्ताहरूले त उनले पार्टीमा विद्रोह गर्दाको बेलामा गरिएका तथानामका गाली, गलौज र भाषण बिर्सेका छैनन् । उनको यस्तो केटौलेपनको शैली,आचरण र व्यवहारले उनी जुनसुकै दलमा रहँदा पनि त्यो दल सक्षम र बलियो बन्दैन र त्यो दलले जनताको विश्वास जित्न पनि सक्दैन । नेता नै असक्षम,अपरिपक्क र अविश्वासिलो भयो भने दल कदापि विश्वासिलो हुन सक्दैन । दल नै विश्वासिलो नहुनु भनेको लोकतन्त्र कमजोर हुनु हो ।  

उनले हिजो त्यही मुखले नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको व्यक्तिगत जीवनको समेत पर्दाफास गर्ने, आज पुनः मिडिया र सार्वजनिक कार्यक्रमहरूमा तिनै ओलीको कति धेरै प्रशंसा गर्न सकेको हो त ? उनी अहिले भन्छिन्-ओली सरकारी बयानका लागि आयोगमा जाँदैनन् रे । उनको नजरमा यति छिटो ओली देश र कानूनभन्दा कसरी माथि हुन गए र ? 

राजनीतिक नेताको मुख भनेको जे मन लाग्यो त्यही बोल्न बनाएको हो र ? अहँ,होइन । नेपाली समाजमा किन अझै पनि यसरी राजनीतिक र सामाजिक अराजकता र भ्रम निम्त्याउने प्रयास गरिरहने ? झाँक्रीकै नजरमा हिजो गलत भएका ओली एकाएक आजको यो विषम परिस्थिति सिर्जना गरी देशलाई खरानी बनाउँदासमेत के के कारणले र कसरी ठीक भए त ? 

झाँक्रीको व्यक्तिगत स्वार्थका लागि नेपाली जनताले बारम्बार बलि दिइरहनुपर्ने हो र ? झाँक्रीले ओली ठीक छन् भनिन् भनेर नेपालीले ओली ठीक छन् भनेर भनिदिनुपर्ने हो र ? नेपाली जनतालाई दास बनाएर कहिले कसको हात समाएको छ,कहिले कसको पाउ समाएको छ । यसरी पनि राजनीति हुनसक्छ र ? लाजको पनि एउटा सीमा हुन्छ । नेतृत्वबाट नै बारम्बार भाँड्ने र देशमा राजनीतिक अराजकता निम्त्याउने गतिविधिबाट नेपाली जनताहरू निकै सचेत हुनुपर्छ।

कतिपयले महिला नेतृ भएकी कारण कति धेरै खेदो खनेको हो भनेको पनि सुनिन्छ । वास्तवमा नेपाली समाज,मिडिया र सामाजिक सञ्जालले उनलाई खेदो नखनेर वा नलखेटेर निकै प्राथमिकता दिएको देखिन्छ । जो समाजसित नजिक हुन खोज्छ,त्यसले समाजको आलोचना पनि सुन्न तयार हुनुपर्छ । 

सामाजिक सल्लाह,सुझाव र आलोचनाले व्यक्तिलाई थप परिपक्वता र जिम्मेवारबोध पनि गराउँछ । समाजले जुन आशा र प्राथमिकता दियो त्यो रामकुमारी झाँक्रीले निभाउन सकिनन् । 

उनमा राजनीतिक उत्तरदायित्वको परिपक्वता नआएको देखिन्छ । नेतृत्वमा उत्तरदायित्वको बोध,परिपक्वता,नैतिकता,अनुशासन र जिम्मेवारबोध हुन सकेन भने त्यसले समाजलाई बर्बादीतिर धकेल्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ