महोत्तरी। मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’ विधिको तयारी थालिएको छ। जनकपुरधाममा महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो। यसपालि मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी आउने मङ्गलबार (मंसिर १० गते) परेको छ भने ‘मटकोर’ एक दिन पहिले सोमबार (मंसिर ९ गते) सम्पन्न गरिनेछ। सातदिने महोत्सवमा नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भएका छन्।
मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुककै नायक मठ मानिने लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले बताए। त्रेतायुगमा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ। सोही विश्वासले मटिहानीमा विवाहको एक दिन पहिले ‘मटकोर’ उत्सव मनाइँदै आइएको उनले बताए।
डा. वैष्णवले मटिहानी नगरवासी र नेपाल–भारतका सन्तहरू ‘मटकोर’ उत्सवमा सम्मिलित हुँदै आएको बताए। मटकोर विधिमा विवाहको एक दिनपूर्व पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ। माटो खन्न जाँदा बाजागाजासहित महिलाले पूजा सामग्रीले भूमि पूजन गर्ने चलन छ। राजकीय संस्कृत मावि मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाले भूमि पूजनको भाव पृथ्वीसँग माटो खन्ने अनुमतिका लागिको प्रार्थना भएको बताए।
मटिहानीमा ‘मटकोर’ उत्सवसँगै विवाह उत्सवमा सरिक हुन आउने भारतीय साधुसन्तको स्वागत, भोजन र आवास प्रबन्ध गरिन्छ। भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्त विवाहको एक दिनअघि मटिहानी बास बसेर भोलिपल्ट जनकपुरमा सम्पन्न हुने विवाह महोत्सवमा सरिक हुन पुग्ने पुरानो चलन छ।
रामजानकी विवाहको साताव्यापी महोत्सवमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन स्वयम्बर तथा विवाह र अन्तिम सातौँ दिन रामकलेवा विधिको परम्परा छ। यो सांस्कृतिक महोत्सव मिथिलाको विशिष्ट परम्परा रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णले बताए।