खोटाङको सबैभन्दा लामो बुवाखोला पक्की पुल सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
768
Shares
विराटनगर। कोशी प्रदेशको गौरवको आयोजना मानिएको खोटाङको सबैभन्दा लामो, १४८ मिटर लम्बाइको बुवाखोला मोटरेबल पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिबार पुल उद्घाटन गरेसँगै जिल्लाको दक्षिणी भेगको यातायात अब सहज हुने अपेक्षा गरिएको छ।
जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा बनेको यो पुल १७ करोड ५८ लाख रुपैयाँभन्दा बढी लागतमा तयार भएको हो। प्रदेश सरकार र निर्माण व्यवसायी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीबीच २०८१ वैशाख ३० गते सम्झौता भएर २०८३ कात्तिक २१ भित्र सक्नुपर्ने लक्ष्य राखिएकोमा कम्पनीले निर्धारित समयभन्दा अघि नै पुल तयार पारेर हस्तान्तरण गरेको हो। मन्त्री राईले समयअगावै निर्माण सम्पन्न भएको पुलको उद्घाटन गरेका हुन्। खोटाङमा पक्की पुल समयमै बनेको यो दुर्लभ उदाहरणमध्येको एक भएको स्थानीयले बताएका छन्।
पुल सञ्चालनमा आएपछि दक्षिणी खोटाङका बासिन्दाले विराटनगर, इटहरी, धरान हुँदै झापा–मोरङ–सुनसरी जान जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। यद्यपि, सिधा यातायात पूर्ण रूपमा सुचारु गर्न बुवाखोलामा अर्को पुल र सुनकोशी नदीमा पनि नयाँ पक्की पुल आवश्यक पर्ने बताइएको छ।
मन्त्री राईले बुवाखोलामा निर्माण हुने अर्को पुलका लागि ठेक्का आह्वान भइसकेको जानकारी दिए। सुनकोशीको बंशिलाघाट क्षेत्रमा अहिले झोलुंगे पुलबाट आवतजावत हुँदै आएकोमा यो वर्षदेखि बेलीबृज जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ। नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टका अनुसार बंशिलाघाटमा बन्ने बेलीबृजले यो क्षेत्रलाई ‘डबल कनेक्टिभिटी’ प्रदान गरी स्थानीय यातायात झन् सहज बनाउने छ।
पुल सञ्चालनमा आएपछि जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा क्षेत्रमा यातायात र जनजीवनमा उल्लेख्य सुधार हुने स्थानीयको विश्वास छ।