arrow

बाघ गणना पुस १ गतेदेखि, तीन महिना लगाएर पाँच निकुञ्जमा गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
tiger-chitwan.jpg

चितवन। नेपालका राष्ट्रिय निकुञ्जहरूमा आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ। पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यो गणना गर्न लागिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार हरेक चार–चार वर्षमा हुँदै आएको बाघ गणना यस पटक पुस, माघ र फागुन गरी तीन महिना लगाएर गरिने छ। उनका अनुसार सुरुमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स बनाएर यहाँबाट गणना थालिनेछ, जसमा तीनवटा ब्लक रहनेछन्। दोस्रो कम्प्लेक्स बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ, जहाँ पनि तीनवटा ब्लक हुनेछन्, भने तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी एउटै ब्लक बनाइने छ।

गणनाका लागि ती ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा (ग्रीड) जडान गरिनेछ, जसलाई १५ रात राखेपछि अर्को ग्रीडमा सारिने छ। निकुञ्ज विभागले सरकारी निकाय र दातृ निकायहरूसँग भएका १,१०० क्यामेरा गणनामा प्रयोग गर्न लागेको आचार्यले जानकारी दिए। पुरानै क्यामेरा प्रयोग गरिने भएकाले गणनामा रु. दुई करोड ५० लाख हाराहारी खर्च हुने अनुमान छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरू राखिनेछ र बाघहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइनेछ, किनकि हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन्। यसअघि, सन् २०२२ मा गरिएको गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो।

बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी रहेको छ। गत वर्ष बजेट अभावका कारण रोकिएको गैँडा गणना यस वर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ