कांग्रेसलाई नयाँ उचाइमा पुर्याउन विशेष महाधिवेशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
781
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीलाई नयाँ उचाइमा पुर्याउन आफूहरूले विशेष महाधिवेशनको प्रस्ताव अघि बढाएको बताएका छन् ।
विशेष महाधिवेशन पक्षधरहरूको विशेष भेलालाई संवोधन गर्दै नेता घिमिरेले आफूहरू कहिले पनि पार्टी फुटको पक्षमा नरहेको स्पष्ट पारे।
उनले भने, ‘विशेष महाधिवेशन फुटको विषय नभएर पार्टीलाई एकतावद्ध कसरी बनाउने, एक ढिक्का कसरी बनाउने, नयाँ परिस्थितिमा पार्टीलाई कसरी सम्हाल्ने र आउने चुनौतीहरुसँग जुद्न सक्ने पार्टी बनाउने विषय हो ।’
उनले २०७९ मा संसद्मा पहिलो भएको कांग्रेसले मुलुकको जिम्मेवारी लिन नसकेको, दलबाट प्रधानमन्त्री बन्न नसकेको, पार्टीको प्रभावकारिता नबढेको जिकिर गरे ।
उनले आफूहरूलाई पार्टीले कहिल्यै पनि अवसर नदिएको र नसम्झिएको भन्दै आफूहरू पार्टीभित्र राउटेको हैसियतमा रहेको दुःखेसो पोखे ।
अब सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस प्रतिनिधिसभाको निर्वाचनमा जान नसक्ने नेता घिमिरेले स्पष्ट पारे ।
‘विशेष महाधिवेशन हामीलाई चाहियो । उहाँहरूले चार वर्षभित्र पार्टीको १५औं महाधिवेशनको तयारी गर्नुभएन । तयारी थाल्नु पनि भएन । त्यसमा तदारुकता देखाउनु भएन । उदासिनता देखाउनुभयो । जेन-जी आन्दोलनपछि पनि हामीले भन्यौँ’, उनले भने, ‘अब नेतृत्व बदल्नुपर्ने भयो । मौजुदा नेतृत्वलाई लिएर हामी चुनावमा जान सक्दैनौं । संसद्को पहिला पार्टी भएर पनि मुलुकको नेतृत्व किन गर्न सकेन । उहाँहरूसित जवाफ छ ?’
उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग राखेर निवेदन दिएकोमा त्यसको बारेमा पार्टी केन्द्रीय समितिमा छलफल नै गरिएको, उल्टै पार्टी फुटाउन लागेको आरोप लगाएको र आफूहरूलाई विभाजनकारीको संज्ञा दिएको नेता घिमिरेले दुःखेसो गरे ।
चिनियाँ कम्युनिस्ट पार्टीले सबैभन्दा लामो बैठक जम्मा २३ दिन बैठक बसेको प्रसंग कोट्याउँदै उनले आफ्नो पार्टीको बैठक भने डेढ महिनासम्म चल्दा पनि निष्कर्ष निस्कन नसकेको भन्दै टिप्पणी गरे ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भनिएको जानकारी गराउँदै उनले त्यो बैठक पनि सर्ने हल्ला भएको उल्लेख गर्दै पार्टीमा बैठक बस्ने भन्दा सर्ने हल्ला नै सावित हुँदै आएको बताए ।
‘भोलि बैठक बस्ने भनिएको छ । सर्ने हल्ला पनि छ । सर्ने हल्ला नै सत्य हुन्छ । गर्ने हल्ला भन्दा सर्ने हल्ला नै सत्य हुन्छ । आजसम्म गर्ने हल्ला सत्य भएको छैन,’ घिमिरेले भने ।
पार्टी सभापति देउवाप्रति आफूहरूको कुनै दुराशय नभएको भन्दै देशको सबैभन्दा ठूलो पार्टीका नेतामाथि घरमै कुटपिट हुनु दुःखद् भएको उनले बताए । कुनै नेतृत्व र व्यक्तित्वप्रति आक्षेप र दुराशययुक्त भावना नराख्न पनि उनले आग्रह गरे ।