युरोपको अन्तरिक्ष महत्त्वाकांक्षामा छलाङ: २२.१ अर्ब युरोको बजेट सुरक्षित
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
2k
Shares
काठमाडौँ । युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले आगामी तीन वर्षको आफ्ना कार्यक्रमहरूका लागि २२.१ अर्ब युरोको बजेट सुरक्षित गरेको बिहीबार जनाएको छ। महाद्वीपले आफ्नो अन्तरिक्ष प्रयासलाई तीव्र पार्ने लक्ष्यसहित योजनाहरूको घोषणा गरेको हो।
इएसएका महानिर्देशक जोसेफ एशबाकरले जर्मन शहर ब्रेमेनमा आयोजित इएसएको मन्त्रीस्तरीय परिषद्को बैठकमा यो रकम सन् २०२२ मा प्रतिबद्धता गरेको भन्दा पाँच अर्ब युरो बढी रहेको बताए। बैठकअघि विज्ञहरूले करिब २० अर्ब युरोको बजेट हुने अपेक्षा गरेका थिए।
एशबाकरले नयाँ प्रतिज्ञाले अन्तरिक्ष एक ‘धेरै छिटो बढिरहेको आर्थिक क्षेत्र हो’ भन्ने यूरोपको बुझाईलाई प्रष्ट पारेको बताए। उनले अन्तरिक्ष अब सुरक्षा र रक्षाका लागि पनि अधिक महत्त्वपूर्ण भएको र यो युरोपले समात्नुपर्ने एउटा अति आवश्यकीय क्षेत्र भएको बताए।
अर्बपति एलन मस्कको स्पेसएक्सजस्ता निजी कम्पनीहरूले अन्तरिक्ष प्रक्षेपण क्षेत्रमा प्रभुत्व जमाएका कारण हालैका वर्षहरूमा अन्तरिक्ष उद्योगमा उल्लेखनीय परिवर्तन आएको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसले आफ्नो रकेट हटाएपछि युरोपले अन्तरिक्षमा आफ्ना परियोजनाहरू प्रक्षेपण गर्ने स्वतन्त्र बाटो पनि गुमाएको छ।
यस वर्ष ५० वर्ष पुरानो इएसएले आफ्ना सदस्य देशहरूबीच नागरिक अन्तरिक्ष परियोजनाहरूलाई अघि बढाउन युरोपेली संघका निकायहरूसँग समन्वय गर्ने छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा ह्वाइट हाउस फर्केयता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको बजेट कटौती लक्ष्य अङ्गालेका छन्। नासाले मङ्गल ग्रहको सतहमा अलौकिक जीवनको सङ्केतको खोजी गर्ने रोभर रोजालिन्ड फ्र्याङ्कलिन परियोजनालाई सहयोग गर्ने बताएको छ। यो मिसन सन् २०२८ मा प्रक्षेपण गर्ने योजना छ।