arrow

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, मलेसियामाथि ९ विकेटको जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
u19-nep-mal-25-11-29.jpg

काठमाडौँ । नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 

सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको सहज जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो । मलेसियाले दिएको ५२ रनको चुनौती पछ्याएको नेपालले ७ ओभर ५ बलमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । 

वंश क्षेत्रीले अविजित रहँदै २३ तथा निश्चल क्षेत्रीले अविजित रहँदै १५ रन बनाए । 

यसअघि खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै मलेसियालाई ५१ रनमै रोकेको हो । मलेसियाले १७ ओभर २ बलमात्रै खेलेर ५१ रन बनाएको हो ।  

दुई खेलाडीलेमात्र दोहोरो स्कोर खडा गरेको खेलमा नेपालका लागि नितेशकुमार पटेलले ४ तथा चन्दन रामले ३ विकेट लिए । 


नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । 

समूह चरणको खेलमा  नेपालले लगातार दुई जित हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो ।
 
नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको  छ । योसँगै नेपाल एसिया कपमा छानिएको छ । 

नेपालले उपाधिका लागि फाइनलमा यूएई र ओमानबीचको विजेतासँग खेल्नेछ । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ