यूएईको ५४औँ राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव सहभागी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
634
Shares
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ आयोजित विशेष समारोहमा सहभागी भएका छन्।
नेपालका लागि युएईका राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्योगपति, युएईका नागरिक तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
समारोहमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अल शाम्सीले युएई र नेपालबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र साझा हितमा आधारित रहेको र दुवै देश जलवायु परिवर्तन, विश्व शान्ति तथा आतङ्कवादविरुद्धको लडाइँमा एकै स्थानमा रहेको बताए। उहाँले विसं २०७२ को भूकम्प, कोभिड–१९ महामारी र बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बेला नेपाललाई युएईले सहयोग गर्दै आएको जानकारी दिए।
युएईमा रहेका धेरै नेपालीले नेपालका साथै युएईको आर्थिक विकासमा योगदान गरेको चर्चा गर्दै राजदूत अल शाम्सीले नवीकरणीय ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार र मानव संशाधन विकासका क्षेत्रमा युएईले नेपाललाई मद्दत गर्दै आएको बताए।