चितवन । पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरूलाई कालिका नगरपालिका वडा नं ६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं १२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका वडा नं ६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल छन्।
यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं छन् ।
उनीहरूको साथबाट रु ७१ हजार दुई सय १० नगदसहित तास बरामद गरिएको छ।
पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान शुरू गरिएको उनले बताए ।
उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।