arrow

प्रिमियर कपको उपाधि जित्न नेपाललाई मात्र १४८ रनको चुनौती, दयानन्दले लिए ६ विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
u19-nep-uae-82-8-15.jpg

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपालले मात्र १४८ रनको चुनौती पाएको छ । 

उपाधिका लागि भइरहेको भिडन्तमा यूएईले नेपाललाई १४८ रनको चुनौती दिएको हो । अजमानस्थित करवान मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको यूएईले ४५ ओभर ५ बल खेल्दा अलआउट भएर १४७ रन बनायो  ।

यूएईका लागि मोहम्मद खुदादादले सर्वाधिक ७१ रन बनाए । नूर उल्लाह अयोबीले २६ रन बनाए । नेपालका लागि दयानन्द मण्डलले ६ तथा अपराजित पौडेलले २ विकेट लिए । 

 सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो भने यूएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो।

नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ। 

तेस्रो स्थानका लागि आजै मलेसिया र ओमान खेलिरहेका छन् । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ । 

प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो र यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।

यस्तो थियो नेपालको सेमिफाइनल भिडन्त

सेमिफाइनलमा नेपालले मलेसियामाथि ९ विकेटको सहज जित हासिल गर्यो । मलेसियाले दिएको ५२ रनको झिनो चुनौती पछ्याएको नेपालले ७ ओभर ५ बलमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । 

वंश क्षेत्रीले अविजित रहँदै २३ तथा निश्चल क्षेत्रीले अविजित रहँदै १५ रन बनाए । 

यसअघि खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै मलेसियालाई ५१ रनमै रोकेको हो । मलेसियाले १७ ओभर २ बलमात्रै खेलेर ५१ रन बनाएको हो ।  

दुई खेलाडीलेमात्र दोहोरो स्कोर खडा गरेको खेलमा नेपालका लागि नितेशकुमार पटेलले ४ तथा चन्दन रामले ३ विकेट लिए । 

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । 

समूह चरणको खेलमा  नेपालले लगातार दुई जित हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो ।
 
नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ