arrow

पुसभित्रै महाधिवेशन सम्भव, 'युद्धस्तरमा' काम गर्नुपर्ने नेता पौडेलको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
pradeep-poudel-19-07.jpg

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीले तोकेको मिति अर्थात् पुस महिनाभित्रै १५औं महाधिवेशन सम्पन्न गर्न सम्भव रहेको टिप्पणी गरेका छन्। उनले यसलाई सफल बनाउन पदाधिकारीसहित सबै नेता-कार्यकर्ता उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

नेता पौडेलले पार्टी बैठकको दोस्रो दिन नै आफूले महाधिवेशनसम्बन्धी प्रस्ताव दर्ता गराएको स्मरण गर्दै डेढ महिना अनावश्यक विवादमा समय खेर गएकोमा दुःख प्रकट गरे। उनले भिडियो वक्तव्य जारी गर्दै भनेका छन्, "मैले कार्तिक ३० गते नै तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव छ, बैठक लामो नचलाऔं बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ, तर यसलाई गम्भीर रुपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो।" 

उनले आफूले विगतमा सम्भव देखेरै प्रस्ताव गरेको भन्दै अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य हुने हो भने महाधिवेशन सम्भव रहेको दोहोर्याए। केन्द्रीय सदस्य पौडेलले बैठकमा कार्यतालिकासहित पुस महिनाभित्र महाधिवेशन गर्न सकिने लिखित प्रस्ताव दर्ता गरेका थिए।

तोकिएकै मितिमा महाधिवेशन सम्भव भएको भन्दै नेता पौडेलले त्यसका लागि सबै 'युद्धमा जस्तै गरी' काम गर्न तयार रहनुपर्ने बताए। महाधिवेशनका लागि सबैभन्दा महत्त्वपूर्ण पाटो सदस्यता नवीकरण र वितरण भएको भन्दै यसपालीको व्यवस्थाले विगतमा जस्तो विवाद र समय नलगाउने विश्वास गरे। "यो पटक धेरै सजिलो बनाइएको छ। सदस्य कसैले नवीकरण गर्न चाहेमा बन्चित हुने छैन। विधानले वर्जित गरेको बाहेक कसैको सदस्यता वर्जित हुने छैन। 

वडा, जिल्ला, केन्द्र र डिजिटल्ली पनि नवीकरण हुने व्यवस्था मिलाइनेछ," उनले भने, "अब चाहने नेपाली नागरिकले सदस्यता पाउने स्थिति बनेको छ।" उनले विशेष महाधिवेशन माग गर्नेको पनि पहिलो प्राथमिकता नियमित महाधिवेशन भएकाले यसले ५४ प्रतिशत हस्ताक्षरकर्ताको समेत माग सम्बोधन हुने बताए। महाधिवेशनले पार्टीमा एकता कायम हुने, नीतिगत स्पष्टता हुने र आगामी फागुन २१ को मतदानमा मत बढाउन सक्ने विश्वास व्यक्त गर्दै उनले सबै मिलेर महाधिवेशन सम्पन्न गर्नुमा नै काङ्ग्रेसलाई लाभ हुने भन्दै सक्रियताका साथ अगाडि बढ्न सबै नेता कार्यकर्तालाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ