arrow

मुस्ताङमा घट्यो स्याउ उत्पादन

उच्च मूल्यका कारण किसानको आम्दानी रु १६ करोड ५३ लाखले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
apple-mustang.jpg

मुस्ताङ । स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङमा यस वर्ष स्याउ उत्पादनमा ८.९७ प्रतिशतले ह्रास आए पनि किसानले स्याउ बिक्रीबाट आम्दानी बढाएका छन्। कृषि तथा पशु विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष स्याउको बजारीकरणबाट रु १६ करोड ५३ लाख बढी आम्दानी बढेको छ।

कार्यालय प्रमुख राजेश गुरुङका अनुसार गत वर्ष प्रतिकिलो रु १५५ मा बिक्री भएको स्याउ यस वर्ष प्रतिकिलो रु १८५ मा बिक्री भएको छ, जसले गर्दा आम्दानी बढेको हो। गत वर्ष ७ हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष ६४४ मेट्रिक टन कम अर्थात् ६ हजार ६८४ मेट्रिक टन उत्पादन भएको थियो।

स्याउ उत्पादन दर घटे पनि उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउको उत्पादनमा भने कुनै असर नपुगेको प्रमुख गुरुङले बताए। यस वर्ष स्थानीय स्याउमा ८१९ मेट्रिक टन कम फलेको छ भने हाइब्रिड स्याउ १७४ मेट्रिक टन बढी फलेको छ।

मुस्ताङमा यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ९९ करोड २१ लाख ३३ हजार आम्दानी भएको छ, जुन गत वर्षको आम्दानी (रु ८२ करोड ६८ लाख) भन्दा धेरै हो। कार्यालयको तथ्याङ्कअनुसार, यस वर्ष स्थानीय स्याउ बिक्रीबाट रु १० करोड ८२ लाख र हाइब्रिड स्याउ बिक्रीबाट रु पाँच करोड ९५ लाखले आम्दानी बढेको छ।

मुस्ताङका पाँच स्थानीय तहमा गरी कूल ८९९ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको छ, जसमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ। यहाँ स्थानीय जातका स्याउमा रेड डेलिसियस, फुजी लगायतका र हाइब्रिड स्याउतर्फ गाला, रेड डेलिसियस, किङ्गरोट लगायतका स्याउ उत्पादन हुने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ