कोटेश्वर चोक सुधारका लागि नेपाल र जापानबीच ऋण सम्झौतामा हस्ताक्षर
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
872
Shares
काठमाडौँ। काठमाडौंको कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको ऋण सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरियो।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका) मार्फत प्राप्त हुने यो ऋणको ‘ग्रेस’ अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलव दुई प्रतिशत (०.२%) ब्याजदर रहनेछ। यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अण्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ।
यी संरचना निर्माणको मुख्य उद्देश्य काठमाडौँ, ललितपुर, भक्तपुर तथा बिपी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधनको आवागमन सहज बनाउने तथा ट्राफिक जाम न्यूनीकरण गर्नु रहेको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागमार्फत कार्यान्वयन गरिनेछ।
ऋण सहायतासँग सम्बन्धित अवधारणापत्रमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यसैगरी, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे।
हस्ताक्षर समारोहमा अर्थमन्त्री खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। जापानी राजदूत तोरुले यो सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजनाबाट उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे।