कोरला नाकाले गण्डकी प्रदेशको समृद्धिमा सहयोग पुग्छः चन्द्र ढकाल
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
825
Shares
पोखरा। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले गण्डकी प्रदेशको उत्तरी सीमाना मुस्ताङबाट सञ्चालनमा आएको कोरला नाकाले गण्डकी प्रदेशको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने बताएका छन् ।
‘लगानीको सम्वर्द्धनः उद्योग-व्यवसायको प्रवर्द्धन’ भन्ने आदर्श नारासहित पोखरा उद्योग वाणिज्य सङ्घले यही १७ देखि २१ मङ्सिरसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालनमा ल्याएको नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ को बुधबार पोखरामा उद्घाटन गर्दै उनले स्थानीय उत्पादनलाई प्रोत्साहनसँगै प्रवद्र्धन गर्नसके अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरे ।
नाका खुलेसँगै यहाँको उत्पादित वस्तु चीनको तिब्बतमा लगेर बिक्री गर्न सकिने भनाइ उनको छ ।
अध्यक्ष ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको बताउँदै नेपालकै पुँजीले पनि धेरै ठूला आयोजना सञ्चालन गर्न सकिने उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले देशमा लगानीमैत्री वातावरण सृजना गर्न सकेमात्र यहाँ उद्योग व्यवसाय फस्टाउन सक्ने बताए ।
आयोजक सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अर्थतन्त्रको कुनै एउटा क्षेत्रलाई असर पर्दा त्यसको असर समग्र अर्थतन्त्रलाई नै पर्ने बताए ।
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दिगो विकासका लागि नीतिगत तथा कानूनी सुधार गर्नुपर्नेमा उनको जोड छ ।
अध्यक्ष कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनःपुरानै अवस्थामा फर्काउन, उद्योगी/व्यवसायीको मनोबल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्नु मेलाको उद्देश्य रहेको बताए ।
पाँच दिनसम्म चल्ने मेलामा उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणका लागि नीतिगत पैरवी गर्न मेलास्थलमै कृषि, पर्यटन र सरकारका आर्थिक नीतिबारे बहसमूलक कार्यक्रम सञ्चालन गरिनेछन् ।
क्यान महासङ्घ कास्की अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत नयाँ युगको आवश्यकता सम्बोधन गर्ने प्रयत्न गर्ने बताए ।
उनले मेलामा सूचना, प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादन प्रदर्शनीमा राखिएको जानकारी दिए।
सङ्घका महासचिव शोभा गौतमले मेलालाई उत्पादक र उपभोक्तबीचको प्रत्यक्ष भेटघाटको थलोका रूपमा लिँदै यस क्षेत्रको मौलिक संस्कृति प्रदर्शन गरिने जानकारी दिए ।
मेलामा सूचना प्रविधिका नयाँ उत्पादन, घरायसी सामान, स्वदेशी हस्तकला, महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादन रहेका छन् ।