arrow

१५औँ महाधिवेशन

पारदर्शिता बिना जनताको विश्वास फर्किँदैन, भ्रष्टाचारविरुद्ध कांग्रेसले नै नेतृत्व गर्नुपर्छ – डा. डिला संग्रौला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
dila-sangraula2.jpg

काठमाडौँ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आगामी पुस २६, २७ र २८ गते हुने १५औँ राष्ट्रिय महाधिवेशन लाई पार्टीको रूपान्तरण, शुद्धीकरण र जनताको विश्वास निर्माणका लागि ऐतिहासिक अवसर भएको बताएकी छिन्। उनले महाधिवेशन पार्टी र देशको भविष्य चयन गर्ने निर्णायक मोड भएको बताइन्।

डा. संग्रौलाले कांग्रेसले तत्काल आत्मालोचना गर्नुपर्ने समय आएको बताइन्। उनले २०४६ सालपछि लाभका पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने स्पष्ट माग गर्दै आन्तरिक सुशासन आयोग गठन गरी पार्टीभित्रैबाट शुद्धीकरण शुरु गर्नुपर्ने आवश्यकता औंल्याइन्।

उनको भनाइ छ, "जबसम्म पार्टीभित्रै पारदर्शिता र जवाफदेहिताको पुनर्जागरण हुँदैन, तबसम्म जनताले कांग्रेसप्रति विश्वास गर्लान् भनेर सोच्नु बेकार हुन्छ। भ्रष्टाचारविरुद्धको कठोर आन्दोलनको कांग्रेसले नै नेतृत्व गर्नुपर्ने अवस्था आएको छ।" उनले यतिबेला कांग्रेसभित्र संगठनमा ताजकीकरण र समावेशी नेतृत्वको आवश्यकता रहेको बताइन्।

उनले हालै भएको जेनजी–युवा आन्दोलनलाई गम्भीर रूपमा आत्मसात गर्दै युवा पुस्ताको ‘हुटहुटी’ सम्बोधन गर्नैपर्ने धारणा राखिन्, जसमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। महिलाको प्रतिनिधित्वका विषयमा उनले कांग्रेसभित्र ५४ प्रतिशत महिला सक्रिय सदस्य भए पनि पदाधिकारीमा उनीहरूको सहभागिता सीमित रहेकोले उपसभापति, महामन्त्रीदेखि सह महामन्त्रीमा पनि महिला सहभागिता बढाउनु अत्यावश्यक भएको बताइन्।

फागुन २१ गते हुने निर्वाचनलाई कांग्रेसले ‘मुभमेन्ट’ (आन्दोलन) को रूपमा लिने निर्णय गरिसकेको बताउँदै उनले हाल देशमा सुरक्षा र राजनीतिक वातावरण चुनौतीपूर्ण रहेकोले मतदातासँग संवाद गर्ने वातावरण सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिइन्। युवापुस्ता, नयाँ विचार र रूपान्तरणको मान्यता बोकेर आउने नेता नै मुलुकलाई गन्तव्यमा पुर्याउन सक्षम हुने विश्वास व्यक्त गर्दै उनले भनिन्, "गइदिन्छु भन्ने सोच होइन, जानैपर्छ भन्ने अठोट छ। महिलाहरूको आवाज बुलन्द गरिसकेकी हुँदा नेतृत्वमा पुग्ने मेरो दायित्व पनि बनेको छ।" उनले रूपान्तरणका एजेन्डाहरू सहित कांग्रेस फेरि जनताको पहिलो विकल्प बन्न सक्ने विश्वास व्यक्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ