राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशनको टुङ्गो लगाउने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
2.1k
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनको टुङ्गो लगाउनका लागि यही मङ्सिर २४ र २५ गते काठमाडौँमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।
महामन्त्री राजेन्द्र गुरुङले दिएको जानकारी अनुसार, पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो।
बैठकमा मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, आगामी फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, र सडकमा देखिएको असन्तुष्टिबारे विस्तृत छलफल गरिनेछ।
बैठकको कार्यसूची अनुसार, अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्नेछन् भने महामन्त्री डा. धवलशम्शेर जबराले पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्नेछन्। यसका साथै, समसामयिक राजनीतिमा युवा सहभागिता वृद्धि गर्ने, सङ्गठन सुदृढीकरण, पार्टीले उठाएका मुद्दाहरू स्थापित गर्ने, जनवर्गीय सङ्गठनका समीक्षा गर्ने र नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने विषयमा पनि छलफल गरिने जनाइएको छ।