भोजपुर। भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा विगत लामो समयदेखि कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योगलाई जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको छ।
जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले स्थलगत अनुगमनका क्रममा यो क्रसर उद्योगले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जानकारी दिए। उनका अनुसार, यो क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएको छ र आवश्यक कानुनी प्रक्रिया पूरा नगरेसम्म सञ्चालनको लागि रोक लगाइएको छ।
जिल्ला अनुगमन समितिले उक्त क्रसर उद्योग नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उन्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत सञ्चालनमा रहेको जनाएको छ। कानुनी प्रावधनअनुसार क्रसर पक्की पुलबाट ५०० मिटर, सडक मार्ग, खोला किनाराबाट २०० मिटर र हाइटेन्सन लाइनभन्दा १०० मिटर टाढाको दुरीमा सञ्चालन गर्नुपर्ने भए पनि यो उद्योगले कुनै पनि प्रक्रिया पूरा गरेको छैन।
अनुगमन समितिका अनुसार, हाल यो क्रसर लेगुवा–भोजपुर राजमार्गको पक्की पुलदेखि करिब ३०० मिटर उत्तर र अरुण नदी किनाराबाट ६० मिटरको दुरीमा सञ्चालनमा रहेको थियो। साथै, बस्तीभन्दा ५०० मिटरभित्र भए बन्द गर्नुपर्ने प्रावधान रहेकोमा क्रसर भोजपुरको लेगुवा बजार र धनकुटाको राम बजारबाट ३५० मिटरभित्र रहेको समितिको ठहर छ। मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण नदी किनारामा यो क्रसर उद्योग विसं २०७२ को माघ महिनादेखि अवैध रुपमा सञ्चालनमा थियो।
प्रमुख थुलुङले “राज्यको सम्पत्ति दोहन गर्न पाइँदैन” भन्दै अवैध रुपमा चलिरहेको उक्त क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि विभिन्न व्यक्ति तथा समूहले सञ्चालनको लागि दबाब दिइरहेको समेत बताएका छन्। उनले जिल्ला सञ्चालनमा रहेका अन्य क्रसर उद्योगहरूको पनि अनुगमन भइरहेको र कानुन विपरीत रहेका क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउन आवश्यक कदम अघि बढाइएको जानकारी दिए।