महोत्तरी। सरकारले उखुको मूल्य र अनुदान रकम निर्धारण गरेपछि महोत्तरीका किसानले आफ्नो मागअनुसार मूल्य नतोकिए पनि गत वर्षभन्दा केही बढेको भन्दै चित्त बुझाएका छन्।
सरकारले यसपालि उखुको मूल्य प्रतिक्विन्टल रु ६९० निर्धारण गरेको छ। यसमा चिनी उद्योगले दिने मूल्य प्रतिक्विन्टल रु ६२० र सरकारले दिने अनुदान रु ७० समावेश छ। उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले किसानको माग प्रतिक्विन्टल रु ७५० भए पनि सरकारले गत वर्षभन्दा प्रतिक्विन्टल रु ७० ले बढाएर मूल्य निर्धारण गरेकोले यसलाई सकारात्मक रूपमा लिएको बताएका छन्। गत वर्ष उखुको मूल्य रु ५८५ र अनुदान रु ३५ मात्रै थियो।
मूल्यमा चित्त नबुझाए पनि अहिले महोत्तरीका किसानहरू खुट्टी उखु (दोस्रो वर्षको बाली) चाँडै काटेर अन्य फसल समयमै लगाउनुपर्ने दबाबमा रहेका छन्। किसानहरू पुस तेस्रो साताभित्र खुट्टी उखु काटेर अन्य बाली (जस्तैः तोरी, गहुँ) लगाइ सक्नुपर्ने समयको दबाबमा छन्। भङ्गाहा–४ का किसान अरुण गिरीले खुट्टी उखु काट्न ढिलाइ भए खेतबारी छ महिना बाँझै बस्ने चिन्ता व्यक्त गरे। बर्दिवास–९ पशुपतिनगरका किसान रामविनोद महतोका अनुसार, अहिले बाली लगाउन नपाए खेतबारी रुखिन्छ, अनि जेठ–असारमा पर्ने पानी पर्खन पर्ने हुन्छ, जसले किसानलाई हतारोमा पारेको छ। किसान र उखु उत्पादक कृषक सङ्घले प्रत्येक वर्ष उखुको मूल्य निर्धारण कात्तिक मसान्तभित्र गरी मङ्सिर दोस्रो साताभित्रै खुट्टी उखुको क्रसिङ खोल्नुपर्ने माग राख्दै आएका छन्।
जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अझै सञ्चालनको सुरसारमा नहुँदा खुट्टी उखु काट्ने बेला घर्किन लागेकोमा किसानहरूको चिन्ता छ। उद्योगले मूल्य निर्धारण टुङ्गिएको हुँदा अब चाँडै क्रसिङ थाल्ने तयारी गरेको जनाएको छ। यसपालि मङ्सिरभित्रै डोला पूजा (उपकरण पूजा) सम्पन्न गरेर पुस पहिलो साता क्रसिङ खोल्ने तयारी रहेको उद्योगले बताएको छ। गत वर्ष मङ्सिर २६ गते नै क्रसिङ थालेको उद्योगले यसपालि भने ढिलो गरेको छ। यसपालि जिल्लामा नौ हजार ६०० बिघामा उखुखेती गरिएको छ, जसमध्ये पाँच हजार बिघाको खुट्टी र चार हजार ६०० बिघाको मुडन रहेको अध्यक्ष कुशवाहाले जानकारी दिए।