arrow

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरीमा छ हजारभन्दा बढी रुख काटिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
asian-highway-nirman.jpg

महोत्तरी। पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने क्रममा महोत्तरी जिल्लामा मात्रै ६ हजार २७ वटा रुख कटान गरिने भएको छ।

पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वी खण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार, विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालय हुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काट्ने आदेश प्राप्त भएको हो।

प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको जानकारी दिए। सोमध्ये सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ रुख कटान गर्ने आदेश भएको छ। 

सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरिने भएको छ। सडक विस्तारका लागि काटिने रुखमध्ये सबैभन्दा बढी सालका रुख रहेका छन्। 

आयोजना प्रमुख दासले सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछ्याउने कामसमेत चुनौतीका रूपमा रहेको बताएका छन्। रुख कटानको काम धनुषा र सर्लाहीमा सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै उक्त कार्य आरम्भ हुने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ