नेपालमा लगानी बढाउन भियतनामी लगानीकर्तालाई राजदूत ओलीको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
1.2k
Shares
काठमाडौँ । थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरेका छन्।
आज भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्स इन्डष्ट्रीसँगको छलफलका क्रममा उनले नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानी क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिए।
राजदूत ओलीले "पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ चुनौती देखिएको छ, यस्तो अवस्थामा दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनेतर्फ ध्यान दिनु जरुरी छ," भन्दै नेपालमा उत्पादनमुलक उद्योग, आइसिटी, फार्मास्युटिकल्स तथा जडीबुटीलगायतका निर्यातजन्य उद्योगमा लगानीका लागि आग्रह गरे। उनले नेपाल सरकार भियतनामी लगानीकर्ताका लागि स्वागत गर्न तयार रहेको उल्लेख गर्दै दुवै देशबीचको व्यापार तथा लगानीका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउन आग्रह गरे। अध्यक्ष ढकालले नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना रहेको र दुई देशको अर्थतन्त्र एकापसमा पूरक बन्न सक्ने बताए। उनले नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको, कानून लगानीमैत्री भएको र सरकार विदेशी लगानीको सुरक्षामा सचेत रहेको जानकारी दिए। उनले पर्यटन क्षेत्रमा विशेष गरी केबलकार, रिसोर्ट, साहसिक पर्यटन जस्ता क्षेत्रमा भियतनामी लगानीकर्तालाई स्वागत गर्न चाहेको बताए।
यता भियतनामी चेम्बर अफ कमर्स इन्डष्ट्रीका उपकार्र्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरू पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताउँदै दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सहकार्य नभए पनि ठूलो सम्भावना रहेको उल्लेख गरे।