मिचाहा प्रजातिले मानव-वन्यजन्तु द्वन्द्व र वन डढेलोः मन्त्री परियार [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
700
Shares
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित प्रथम बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालका सुन्दरतम तालतलैयाहरू र पर्यावरणमा मिचाहा प्रजातिले ठूलो असर गरेको उल्लेख गरे ।
चरणक्षेत्रहरूमा गन्धेझारहरूले वस्तुभाउको बासस्थान ध्वस्त पारेको र राष्ट्रिय निकुञ्ज तथा आरक्षमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्सानी गर्नुका साथै बासस्थान नोक्शानी गरेको जिकिर गरे ।
जसले वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आएर मानव-वन्यजन्तु द्वन्द्व बढेको पनि उनले बताए ।
उनले मिचाहा वनस्पती वनभित्र सुख्खा याममा वन डढेलोको प्रमुख कारक भएको उल्लेख गरे ।
उनले भने, ‘नेपालमा पनि मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको छ । हाम्रा सुन्दरतम तालतलैयाहरू, जलकुम्भीले यसले पर्यावरणीय क्षति गरेको छ । चरणक्षेत्रहरूमा पार्थेनियम र गन्धेझारहरूले वस्तुभाउको बासस्थान ध्वस्त पारिसकेको छ । हाम्रा राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्सानी गर्नुका साथै बासस्थान नोक्सानी गरेको छ । जसले गर्दा वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आई मानव-वन्यजन्तु द्वन्द्व बढेको छ । वनभित्र सुख्खा याममा मिचाहा वनस्पति, वन डढेलोको प्रमुख कारक भएको छ ।’
मन्त्री परियारले बाह्य मिचाहा प्रजातिले स्थानीय जैविक विविधता, पारिस्थितिक प्रणाली, कृषि उत्पादन तथा पशुपालन र मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको बताए।
उनले मिचाहा प्रजातिले पार्ने नकारात्मक प्रभाव बर्सेनि बढ्दै गएको बताए ।