arrow

देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
kulman-08-23.jpg

रौतहट । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

रौतहटको चन्द्रपुर-८ मर्धरमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने हुँदा आउँदो निर्वाचनमा सही व्यक्तिलाई निर्वाचित गरेर पठाउनुपर्ने बताए ।

देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा फागुन २१ गते हुने निर्वाचनमा देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्नसमेत उनले आग्रह गरे ।

जनताका आशा र अपेक्षा धेरै भएको बताउँदै मन्त्री घिसिङले भने, “तीन महिनाभित्र सक्ने किसिमको काम हामी गरेर देखाउछौँ, तर तीन महिनापछि पनि धेरै काम गर्नुपर्ने हुँदा सही नेतृत्व छान्ने काम जनताको हो ।”

काम गर्न नसक्ने निर्माण व्यवसायीलाई धमाधम कारबाही गरिरहेको उल्लेख गर्दै मन्त्री घिसिङले रौतहटमा पनि काम गर्न नसक्नेलाई कारबाही गरेर विकासका काम अगाडि बढाउने बताए ।

आफू बिद्युत् प्राधिकरणको कार्यकारी अधिकृत हुँदा विद्युतको क्षेत्रमा आमूल परिर्वतन आएको भए पनि अब देशको सबै क्षेत्रमा आमूल परिर्वतनको खाँचो रहेको मन्त्री घिसिङको धारणा थियो ।

देशका अधिकांश समस्या समाधान गर्न सही नेतृत्व आवश्यक भएकाले त्यसतर्फ आम नागरिकले ध्यान दिनुपर्ने उनले बताए ।

किसानको माग अनुसार अहिले सिँचाइ मन्त्रालय अन्तर्गत करिब रु १७/१८ अर्ब बराबरको डिप बोरिङ परियोजना चलिरहेको मन्त्री घिसिङले जानकारी दिए ।

‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ अभियानका अभियन्ता तथा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव गोविन्द चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललगायतको सहभागिता थियो ।

मन्त्री घिसिङले रौतहटको चन्द्रपुर-३ स्थित चाँदी नदीको पुल, दुर्गाभगवती गाउँपालिका-४ को बागमती नदीमा रहेको बडहर्वा पुल, गौर इशनाथ नगरपालिका जोड्ने बकैया नदीको टिकुलियाघाटको पुललगायतको अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ