जाडो सुरु भएसँगै घट्यो डेंगी र स्क्रब टाइफसको सङ्क्रमण
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
701
Shares
काठमाडौँ। जाडो समय सुरु भएसँगै चितवन जिल्लाका अस्पतालहरूमा आएका बिरामीहरूमा डेंगी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ। जनस्वास्थ्य कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष मङ्सिर महिनामा दुवै रोगको सङ्क्रमणमा उल्लेखनीय कमी आएको पाइएको छ।
जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मङ्सिरमा ११३ जनामा डेंगी देखिएकामा यस वर्ष १२ जनामा मात्र यो रोगको सङ्क्रमण भेटिएको छ। यस आर्थिक वर्षमा अहिलेसम्म ५,९२३ जनाको नमुना परीक्षण गरिएकोमा जम्मा १७४ जनामा डेंगीको सङ्क्रमण देखिएको हो। गत आर्थिक वर्षको मङ्सिरसम्ममा भने १,४६३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो भने गत आवभर १७,३५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्यु भएको थियो।
घिमिरेले दिएको मासिक सङ्क्रमणको तथ्याङ्कअनुसार गत वर्ष साउनमा १६०, भदौमा ३४९, असोजमा ४८७, कात्तिकमा ३३४ र मङ्सिरमा ११३ जनामा डेंगीको सङ्क्रमण देखिएको थियो। यसवर्ष भने साउनमा ४२ जना, भदौमा ४४ जना, असोजमा २९ जना, कात्तिकमा ४७ जना र मङ्सिरमा १२ जनामा डेंगीको सङ्क्रमण देखिएको छ। गत वर्षको तुलनामा यो वर्ष चितवनमा डेंगीको सङ्क्रमण कम पाइएको उहाँले बताउनुभयो। उहाँका अनुसार पुस लागेसँगै यो रोगको सङ्क्रमण घट्दै जान्छ।
यो रोग बढी मात्रामा सहरी क्षेत्रमा देखिएको उहाँले जानकारी दिनुभयो। डेंगी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ।