arrow

सरकार निर्वाचनको तयारीमा केन्द्रित छ: कानूनमन्त्री सिन्हा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
anilkumar-singha.jpg

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार हाल निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएका छन्।

१९औँ संघीय संसद सेवा दिवसको अवसर पारेर आज (आइतबार) सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन सम्पन्न भएपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन्। उनले त्यस कार्यका लागि संसद सेवाका कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने समेत स्पष्ट पारे।

मन्त्री सिन्हाले कानून निर्माण गर्ने संघीय संसदको कामलाई प्रभावकारी बनाउने काममा संसद सेवाका कर्मचारीहरूको योगदान उल्लेख्य हुने बताए। उनले कानूनहरूलाई स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको काम अघि बढाएको उल्लेख गर्दै, यस सम्बन्धमा संघीय संसदको सुझाव अति उपयोगी हुने विश्वास समेत व्यक्त गरे।

उनले भने, "हामी निर्वाचनको तयारीमा लागेका छौँ। निर्वाचन गरेपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउन हामी सबैको सहयोगको आवश्यकता रहेको छ। जनप्रतिनिधिहरूको सर्वोच्च संस्था रही कानून निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको संघीय संसदको विशेष सहयोगीको रूपमा रहेको संसद सेवालाई लिइन्छ। यो सेवा एक विशिष्टकृत सेवा हो। संघीय संसदको कार्य सञ्चालनका लागि यसलाई व्यवस्थित र मर्यादित ढंगले अघि बढाउन संघीय संसद सेवाको भूमिका महत्त्वपूर्ण हुन्छ।"

मन्त्री सिन्हाले संघीय संसदको कामलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षले विशेष भूमिका निर्वाह गर्न आवश्यक रहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ