सरकारले भरोसा दिलाओस् कांग्रेस चुनावमा जान्छ, पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुन्छ – शिवाकोटी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
1.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचन गराउने भरोसा सरकारले दिलाए कांग्रेस चुनावमा जाने स्पष्ट पारेका छन् ।
रिर्पोर्टस क्लबमा भएको कार्यक्रममा बोल्दै शिवाकोटीले कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने निर्णय गरिसकेकोले सरकारले उचित वातावरण बनाउनेतर्फ काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हामी चुनावमा जाने भनेर निर्णय गरिसकेका छौँ । सरकारले समयमै गर्छ कि गर्दैन् भन्ने बहस चलिरहेकोछ, उचित वातावरण नबनिसकेको गुनासो छ । सरकार चुनाव गराउनको लागि शान्ति तथा सुरक्षाको वातावरण बनाउन लागोस् । राजनीतिक दलहरु चुनावको लागि तयार छन् । सरकारले प्रष्टसँग भन्नुपर्छ–हामी उचित वातावरण बनाउँछौं भनेर । यो सरकारले चुनाव गराउने कुरामा भरोसा दिलाओस् । कांग्रेस चुनावमा जाने कुरामा प्रष्ट छ ।’
उनले पार्टीको १५औँ महाधिवेशन घोषित मितिमै हुनेगरी तयारी थालिएको र काम भइरहेको विश्वास दिलाएका छन् । नेता शिवाकोटीले कांग्रेसको यसपटकको महाधिवेशनमा नेतृत्व परिवर्तन हुने भन्दै त्यसको थालनी भइसकेको बताए ।
उनले भने, ‘कांग्रेसमा परिवर्तनको तीव्र चाहना छ । विशेष महाधिवेशनको प्रस्ताव ल्याउनु पनि परिवर्तनको चाहना नै हो । १५औँ महाधिवेशनको जग नै यही नै बनेको हो । पार्टीलाई १५औँ महाधिवेशनसम्म पुर्याउन महामन्त्री गगनकुमार थापाले सशक्त भूमिका खेल्नुभएको छ, यही तप्कालाई नेतृत्वको रुपमा देख्न चाहिरहरेका छन् ।’
उनले पार्टीको १५ औँ महाधिवेशनको लागि क्रियाशील सदस्यताको वितरण भइरहेको जानकारी दिए । उनले भने, ‘हामी १५औँ महाधिवेशनको सम्मुखमा छौं । यतिखेर क्रियाशील सदस्यताको वितरण भइराखेको छ । अहिले तहगत रुपमा जिल्ला तहसम्म बुझाउने काम भइरहेको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको तर्फबाट समन्वय गर्ने र अनुगमन गर्ने काम भइराखेको छ। त्यो डाटाहरु केन्द्रीय कार्यालयमा पठाउने काम भइराखेको छ । अब हामी तहगत अधिवेशनहरु गर्नुपर्ने अवस्थामा केही समयमा पुग्दैछौँ । महाधिवेशनको टाइट कार्यतालिका छ। यसले महाधिवेशन प्रभावित पार्छ कि भन्ने कुरा आइराखेको छ । महामन्त्री गगन थापा, जो सदस्यता व्यवस्थापन समितिको संयोजक हुनुहुन्छ, उहाँले आज मात्रै क्षेत्रीय सभापतिसँग बैठक गर्नुभएको छ । अहिलेसम्म भइराखेका कामको जानकारी गराउनुभएको छ । हामी महाधिवेशनतर्फउन्मुख छौं ।’
उनले प्रदेशको महाधिवेशन यदि भ्याउने अवस्था नरहने हो भने संसदीय चुनावपछि सारेर भए पनि केन्द्रीय महाधिवेशन हुनुपर्छ भन्ने छलफल उठ्न थालेको स्मरण गराए ।
उनले भने, ‘अहिलेको नियमित कार्यतालिका प्रभावित हुने अवस्था बन्यो भने, २४८८ जनाले हस्ताक्षर गरेर बनाएको डकुमेन्ट अहिले पनि अस्तित्वमा छ । त्यतिवेला विशेष महाधिवेशनको प्रस्ताव एक्टिभ हुने अवस्था आउन सक्छ । विशेष महाधिवेशनलाई किनारामा ल्याएर नै यो नियमित महाधिवेशनको कार्यतालिका छ । यो नियमित महाधिवेशनको कार्यतालिाका प्रभावित भयो भने दफा १७ को २ अनुसार विशेष महाधिवेशनमा जानुपर्ने अवस्था छ ।’