arrow

पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
peanut.jpg

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण गर्न सुरु गरेको छ। ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदामखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको यो नगरपालिकाले गत वर्षबाटै प्रोत्साहन रकम वितरण कार्यक्रम ल्याएको हो।

नगरप्रवक्ता कमल गिरीले दिएको जानकारीअनुसार, न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको छ। यो वर्ष नगरपालिकामा कूल तीन हजार १२८ मुरी बदाम उत्पादन भएको छ। प्रोत्साहन रकम पाउनका लागि किसानको निवेदनका आधारमा कृषि शाखाका कर्मचारीले मूल्याङ्कन गर्ने गर्छन्।

पहिलो चरणमा आइतबार नगरपालिकाको कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसर पारेर वडा नं ५ दुर्छिम, वडा नं ७ वहादेवस्थान र वडा नं ८ धितुङका किसानलाई रकम वितरण गरिएको छ। कृषि शाखा प्रमुख रविन भट्टराईका अनुसार धितुङका १५८ जना किसानलाई रु सात लाख १० हजार ६०० प्रोत्साहन रकम वितरण गरिएको छ। नगरपालिकाको कार्यालय टाढा पर्ने वडा नं २ डिकुवाका किसानले रु एक लाख दुई हजार तथा वडा नं ११ राजापानीका किसानले रु ९३ हजार ३०० वडा कार्यालयमार्फत प्राप्त गर्नेछन्। यस वर्ष सबैभन्दा बढी धितुङका गोपाल बुढाथोकीले ४१ मुरी बदाम उत्पादन गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष बदाम उत्पादनमा ४६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ।

नगरप्रमुख विमला राईले नगरपालिकाको अधिकांश भूभागमा उत्पादन हुने बदामखेतीलाई प्रवर्द्धन गर्दै ब्रान्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको जानकारी दिइन्। उनले किसानले उत्पादन गरेका बदाम व्यवसायीले सस्तोमा लैजाने गरेकाले त्यसलाई रोक्दै बदाम र गहतलाई नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएको बताइन्।

जिल्लाका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र बदामखेती हुँदै आएको छ। यहाँ उत्पादित बदाम जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, मेलाहरू तथा छिमेकी जिल्ला ओखलढुङ्गामा बिक्री हुने गर्छ। विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले यहाँ उत्पादित बदाम कोसेलीका रूपमा पनि लैजाने गरेका छन्। नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवर्द्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र समेत सञ्चालन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ