उपाध्यायको निधनमा तीन दिन कांग्रेसको झण्डा आधा झुकाइने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
2.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्याय को निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनीको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उनीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। बैठकले यही मङ्सिर २९, पुस १ र २ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
नेता उपाध्यायको काठमाडौँको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा यही मङ्सिर २७ गते शनिबार ९१ वर्षको उमेरमा निधन भएको थियो। बैठकले उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
बैठकले आगामी पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औँ दिनमा उनको गृह जिल्ला मोरङमा शोकसभा को आयोजना गर्ने निर्णय गरेको छ। उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ।
स्वर्गीय उपाध्याय विसं २०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए। उनी विसं २०५६ मङ्सिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुका साथै विसं २०५६ मा शिक्षा तथा खेलकुदमन्त्री भएका थिए। विसं २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनःस्थापित व्यवस्थापिका संसद्को सदस्य र विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए।
शालिन र बौद्धिक व्यक्तित्व का रूपमा परिचित स्व. उपाध्याय विसं २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक समेत भएका थिए। राजनीतिक सङ्घर्षका क्रममा उनीले पटक–पटक जेल जीवन र निर्वासित जीवनसमेत बिताएका थिए। पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ।