गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
758
Shares
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ ।
यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत वैशाख १५ गते सकिएको थियो।
कुलपतिसहित सबै प्राज्ञसभा सदस्यहरूको नियुक्तिका लागि गत वैशाख २७ गते गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेकामा अहिलेसम्म नियुक्ति हुन नसकेको हो ।
प्रतिष्ठानका निवर्तमान सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानमा रहेका २४ ओटै पद अहिले रिक्त रहेको बताए ।
“कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको आवेदन परेको छ, तर मन्त्रालयले अहिलेसम्म नियुक्तिको प्रकृया अघि बढाएको छैन”, उनले भने, “प्रतिष्ठान नेतृत्वविहीन हुँदा योजना र कार्यक्रम कार्यान्वयन प्रभावित भइरहेको छ ।”
सिङ्गो प्रदेशको भाषा, कला, संस्कृति आदिको उत्थानमा क्रियाशील हुनुपर्ने संस्था लामो समयसम्म नेतृत्वविहीन हुनु दुःखद् रहेको उनको भनाइ छ ।
सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अब छिट्टै नियुक्तिको प्रकृया शुरू हुने बताए ।
“कुलपतिसहित सबै पदमा दरखास्त परिसकेको छ, विविध कारणले नियुक्तिमा ढिलाइ भएको हो, अबको एक, दुई हप्तामा नियुक्तिको प्रकृया टुङ्गिन्छ”, उनले भने ।
गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी ऐनमा कुलपतिका लागि शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ ।
उपकुलपति र सदस्य सचिवका लागि स्नातक र सदस्यहरूका लागि कक्षा १२ वा सो सरह उत्तीर्ण हुनुपर्ने व्यवस्था छ ।
प्रतिष्ठानमा नियुक्त हुने व्यक्ति ३५ वर्ष पूरा भई भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी क्षेत्रमा सिर्जना, अध्ययन तथा अनुसन्धान गरी सम्बन्धित विषयमा ख्याति आर्जन गरेको हुनुपर्ने प्रावधान ऐनमा छ ।