मुक्तिनाथको काखमै रहेको ऐतिहासिक 'झारकोट' गाउँ ओझेलमा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
602
Shares
मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ऐतिहासिक 'झारकोट' गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेलमा परेको छ। मुक्तिनाथको काखमा रहेका चार गाउँमध्ये सबैभन्दा बाक्लो बस्ती र पुरानो गाउँ झारकोट हो।
झारकोटसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुरगाउँ यस क्षेत्रमा पर्छन्। यीमध्ये धार्मिक तीर्थालुको उच्च आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ, तर झारकोटसहित अन्य गाउँहरू भने पर्यटनबाट गुमनामजस्तै बनेका छन्। कागबेनी–मुक्तिनाथ सडकखण्डसँगै जोडिएको भए पनि झारकोट पर्यटनका हिसाबले सबैभन्दा पछि परेको स्थानीयहरू बताउँछन्।
तत्कालीन समयमा कागबेनी–मुक्तिनाथ जाने सडकमार्ग नहुँदा पुरानो झारकोट गाउँमा पर्यटकको चहलपहल हुन्थ्यो। मुक्तिनाथ दर्शन गर्ने धार्मिक तीर्थालुहरू र मनाङ हुँदै थोरङ्लापास गर्ने विदेशी पर्यटक झारकोट गाउँभित्रको गोरेटो बाटो हिँडेर आवतजावत गर्थे। तीर्थयात्री यहाँ खाजा खाना र बास बस्थे, जसले गर्दा स्थानीयको व्यापार व्यवसाय राम्रै चलेको थियो।
तर, सडकको विकास भएपछि अहिले झारकोट गाउँभित्रको गोरेटो पदमार्ग बिरानो बनेको छ। पछिल्लो एक दशकयता गाउँभित्रको गल्ली गोरेटो बाटो स्थानीयवासीको आवतजावतका लागि मात्र सीमित बनेको छ। स्थानीय धेचआङ्मो गुरुङका अनुसार सडकको विकाससँगै गाउँको आवश्यक प्रचारप्रसार नहुँदा झारकोट ओझेलमा परेको हो।
डेढ दशकअघि निकै चहलपहल हुने झारकोट पछिल्लो समय सुनसान बनेको छ। गाउँमा आम्दानी गर्ने माध्यम गुम्न थालेपछि युवा जनशक्ति गाउँ छाडेर वैदेशिक रोजगारीका लागि युरोप र अमेरिका पलायन हुन थालेका छन्। हाल गाउँमा बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी रहेको स्थानीयवासीको भनाइ छ।
स्थानीय नम्डुल गुरुङका अनुसार झारकोट गाउँका स्थानीय आंशिक खेतीपाती र पशुपालन (याक, घोडाको व्यापार) गरी जीविकोपार्जन गर्ने गरेका छन्। हाल केही युवाले घोडाबाट मुक्तिनाथ मन्दिरमा दर्शनार्थीहरूलाई सशुल्क सेवा दिइरहे पनि वर्षभरिको खेतीपाती र पशुपालन व्यवसायले वार्षिक गर्जो टार्न मुस्किल परेकाले वैकल्पिक व्यापार व्यवसायको भर पर्नुपरेको अवस्था छ।
झारकोट गाउँमा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना रहेका ऐतिहासिक सम्पदाहरू छन् । राजाको दरबार: गाउँमा सदियौँ पुरानो ऐतिहासिक साढे तीनतले राजाको दरबार अवस्थित छ, जसलाई वडाध्यक्ष प्रमेश गुरुङले पुरातात्विक तथा सांस्कृतिक सम्पदा भनेका छन्।
झार छोदे गुम्बा: यहाँ सदियौँ वर्ष पुरानो झार छोदे गुम्बा अवस्थित छ, जसको संरक्षणका लागि प्रदेश र पालिका सरकारले बजेट विनियोजन गर्दै आइरहेका छन्। गुरु सेप्ची: झारकोट गाउँ नजिकै गुरु सेप्ची रहेको छ, जहाँ ढुङ्गामा कुदिएका जस्ता गुरु पद्ममसम्भवका पाइलाको डोब देख्न सकिन्छ।
तोराताल: गाउँमाथि केहीपर तोराताल अवस्थित छ, जहाँ सिवकर्थोन (तोरा) नामक प्राकृतिक वनस्पति पाइन्छ। यो ताल पछिल्लो समय पर्यटक अवलोकनका लागि आकर्षक बनेको छ।