कम्बोडिया र थाई सेनाको हवाई आक्रमणमा १२ नागरिकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
1.8k
Shares
काठमाडौँ । कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा थाई सेनाले कम्बोडियाको सार्वभौम क्षेत्रमा गहिरो प्रवेश गर्दै आफ्नो आक्रमणलाई चौथो सैन्य क्षेत्रमा थप विस्तार गरेको आरोप लगाएको छ ।
मन्त्रालयकाअनुसार थाई सेनाले उत्तरपश्चिमी सिम रीप प्रान्तमा हवाई आक्रमणलाई विस्तार गरेको छ । थाई सेनाले एफ-१६ लडाकु विमान प्रयोग गरी सोमबार बिहान १० बजे स्थानीय समयमा विस्थापित नागरिक शिविर नजिकै दुईटा बम खसालेको बताइएको छ ।
थाईल्याण्डसँगको पछिल्लो सीमा द्वन्द्वमा आईतवार साँझ ६ बजेसम्म १२ जना कम्बोडियाली नागरिकको मृत्यु भएको र ७४ जना घाइते भएको कम्बोडियाको गृह मन्त्रालयका प्रवक्ता टच सोखाकले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए।
यसैबीच, कम्बोडियामा विस्थापितहरूको संख्या चार लाख तीन हजार नाघेको छ । जसमा करिब दुई लाख आठ हजार महिला र ९६ हजार बालबालिका छन् ।
रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले आईतवार मध्यरातदेखि सोमबारर बिहानसम्म थाई सेनाले कम्बोडियाली क्षेत्रका विभिन्न स्थानमा तोपका गोला प्रहार जारी राखेको बताए।
कम्बोडिया-थाईल्याण्ड सीमा द्वन्द्व डिसेम्बर ७ देखि पुनः शुरू भएको हो । दुवै पक्षले एकअर्कालाई आक्रमण शुरू गरेको आरोप लगाएका छन् ।