राजस्व संकलनमा धक्का: चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा ८० अर्ब कम प्राप्ति
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
580
Shares
काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्मको राजस्व संकलन लक्ष्यको तुलनामा निकै कम देखिएको छ। सरकारले यो आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखेकोमा मंसिर २० गतेसम्मको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ उठाउने योजना बनाएको थियो। तर, सो अवधिमा जम्मा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ, जुन निर्धारित लक्ष्यको ७८.७४ प्रतिशत मात्र हो।
मंसिर महिनाको मात्र तथ्याङ्क हेर्दा पनि सरकारले ९५ अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ८० अर्ब २७ करोड रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ। यो महिनाको लक्ष्यको ८४.३१ प्रतिशत प्राप्ति हो। मन्त्रालयको विवरण अनुसार मंसिर २९ गते एकै दिन ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व सरकारी ढुकुटीमा जम्मा भएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ सँग तुलना गर्दा पनि यस वर्ष राजस्वको स्थिति सन्तोषजनक देखिएको छैन। गत वर्ष मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ संकलन भएको थियो भने मंसिर महिनामा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ उठेको थियो। गत वर्षको तुलनामा अंक केही बढेको देखिए पनि लक्ष्यको आधारमा यस वर्षको खाडल झन् फराकिलो देखिएको छ।
आर्थिक गतिविधिहरू अपेक्षा गरिएअनुसार विस्तार हुन नसक्दा राजस्व संकलनमा दबाब परेको अर्थ मन्त्रालयको विश्लेषण छ। सरकारी अधिकारीहरूले विशेषगरी 'जेन–जी' आन्दोलनका कारण उद्योगधन्दा र व्यापारिक क्षेत्रमा परेको नकारात्मक असरले राजस्व संकलनमा प्रत्यक्ष प्रभाव पारेको बताउँदै आएका छन्।