काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी होइन, यो शारीरिक रोगजस्तै उपचारयोग्य अवस्था रहेको बताएका छन् ।
सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’को सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै उनले पूर्णरूपमा स्वस्थ्य र आरोग्य जीवनका लागि शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको बताए ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिप्रति भेदभाव नगर्न र आफ्ना परिवारको मानसिक स्वास्थ्यको ख्याल गर्न उनले आग्रह गरे ।
सचिव डा देवकोटाले भने, “यस अभियानलाई सफल बनाउन तीनै तहका सरकारलगायत सम्बन्धित सरोकारवाला निकाय सबैबाट सकृय सहभागिताको अत्यन्त आवश्यक छ । यो अभियानमा सबैले खुलेर कुरा गर्न, एक अर्कालाई सुन्न र सकृय सहभागिताकालागि आह्वान गर्दछु ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत मङ्सिर २४ देखि आगामी फागुन ३० सम्म ‘स्वास्थ्य मन, स्वास्थ्य जीवन-मनको कुरा गरौँ’ भन्ने नारासहित मानसिक स्वस्थ्य सचेतना अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको उद्देश्य मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै सबै नागरिकको पहुँचमा यो सेवा पुर्याउनु र खुल्ला संवादको संस्कृतिलाई प्रोत्साहन गर्नु हो ।
मन्त्रालयकाअनुसार नेपालमा आज पनि १० मध्ये एक जना कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट बाँचिरहेका छन् भने दैनिक सरदर १९ जनाले आत्महत्याका कारण ज्यान गुमाउने पर्ने अवस्था छ ।
तनाव वा पीडाको अवस्थामा मनका कुरा विश्वासिलो व्यक्ति परिवारजन र सहकर्मीसँग साट्न र आवश्यक परे स्वास्थ्यकर्मी वा चिकित्सकको सहयोग लिन कहिल्यै नहिच्किचाउन मन्त्रालयले अनुरोध गरेको छ । रासस