arrow

'कूटनीति सफल नभए सैन्य माध्यमबाटै भूमि गाभ्ने' पुटिनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
putin-25-12-4www.jpg

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी आक्रमणमा मस्कोले आफ्नो ‘निश्चित’ लक्ष्य हासिल गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्। बुधबार मस्कोमा रक्षा मन्त्रालयका उच्च अधिकारीहरूसँगको बैठकमा बोल्दै पुटिनले विशेष सैन्य अभियानको उद्देश्य प्राप्त हुनेमा कुनै शङ्का नरहेको बताए।

क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले रुस द्वन्द्वको मूल कारणलाई कूटनीतिको माध्यमबाट अन्त्य गर्न इच्छुक रहेको उल्लेख गरे। यद्यपि, उनले कडा चेतावनी दिँदै भने, “यदि विरोधी देश र यसका विदेशी संरक्षकहरूले ठोस छलफलमा संलग्न हुन अस्वीकार गरेमा रुसले सैन्य माध्यमबाट कब्जा गरेको युक्रेनी भूमि आफ्नो मुलुकमा गाभ्नेछ।” यो टिप्पणीले कूटनीति सफल नभए रुस थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केत दिएको छ।

पुटिनको यो भनाइ बर्लिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधिहरू र युक्रेनी अधिकारीहरूबीच भएको दुई दिने वार्तापछि आएको हो। युक्रेनले उक्त वार्तामा सुरक्षा सुनिश्चितताका प्रश्नमा ‘प्रगति’ भएको भन्दै प्रशंसा गरे पनि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुन क्षेत्र रुसलाई सुम्पिने भन्ने विषयमा अझै गम्भीर मतभेद रहेको स्पष्ट पारेका छन्।

वाशिङ्गटनको प्रारम्भिक प्रस्तावमा युक्रेनले आफ्नो पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता हुनुपर्ने र डोनेट्स्क, क्रिमिया तथा लुगान्स्क क्षेत्रलाई रुसी भूमिको रूपमा मान्यता दिनुपर्ने उल्लेख थियो। हाल उक्त योजनाको संशोधित स्वरूप कस्तो छ भन्नेबारे स्पष्ट जानकारी बाहिर आएको छैन। क्रेमलिनले पनि बर्लिन वार्ताको नतिजाबारे अमेरिकाबाट आधिकारिक सूचनाको पर्खाइमा रहेको बताएको छ।

रुसले सन् २०२२ सेप्टेम्बरमा जापोरिज्झिया, डोनेट्स्क, लुगान्स्क र खेरसोन क्षेत्रहरूलाई आधिकारिक रूपमा आफ्नो कब्जामा लिएको दाबी गरेको थियो। यद्यपि, ती क्षेत्रहरूमा अझै पनि रुसको पूर्ण सैन्य नियन्त्रण कायम हुन सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ