चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरु: डेढ सय गणक कार्यक्षेत्रमा
क्यामेरा ट्र्यापिङ प्रविधि प्रयोग
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
763
Shares
काठमाडौँ | चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि औपचारिक रूपमा बाघ गणना शुरु गरिएको छ। गणनाका लागि आवश्यक तयारी र पुस १ तथा २ गते गणकहरूलाई दिइएको विशेष तालिमपश्चात् १५० जनाको टोली आजैदेखि कार्यक्षेत्रमा खटिएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार टोलीले आज त्रिवेणी, अमलटारी, कसरा र बरणडाभार क्षेत्रमा काम शुरु गरेको छ। गणनालाई व्यवस्थित बनाउन चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै 'ब्लक' मानेर तीन भागमा विभाजन गरिएको छ। पहिलो चरणमा दुई सय ८६ वटा ग्रिडमा गणना गरिनेछ भने पूरै ब्लकमा नौ सय ५८ वटा ग्रिडहरू बनाइएका छन्। प्रत्येक ग्रिड दुई वर्ग किलोमिटरको हुने र त्यहाँ एक जोडी स्वचालित क्यामेरा राखिने सूचना अधिकारी मगरले जानकारी दिए।
बाघ बढी ओहोरदोहोर गर्ने सम्भावित स्थानहरूमा स्वचालित क्यामेरा जडान गरिनेछ। ती क्यामेराले कैद गरेका फोटोहरूका आधारमा बाघको शरीरमा हुने विशिष्ट 'पाटा' हेरेर सङ्ख्याको पहिचान गरिनेछ। "हरेक बाघको पाटा मानिसको औँठा छाप जस्तै फरक–फरक हुन्छ, जसले गर्दा एउटै बाघ दोहोरिने सम्भावना हुँदैन," मगरले बताए। गणकहरूले आफ्नो क्षेत्रका ८ देखि १२ वटा ग्रिडमा राखिएका क्यामेराहरूको दैनिक अनुगमन गर्नेछन्।
बाघ गणना चितवन र पर्सामा मात्र नभई बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि एकैसाथ अघि बढाइएको छ। करिब तीन महिना चल्ने यस महानिरीक्षणमा निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षण साझेदारहरूको सहभागिता रहेको छ। गणकहरूको बस्ने व्यवस्थाका लागि ग्रिडको बीच भागमा पर्ने गरी प्राविधिक शिविरहरू (क्याम्प) स्थापना गरिएको छ।
नेपालले हरेक चार वर्षमा बाघ गणना गर्दै आएको छ। यसअघि सन् २०२२ मा गरिएको गणनामा नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको थियो, जसमा चितवनमा मात्रै १२८ वटा वयस्क बाघ भेटिएका थिए। यो गणना सकिएलगत्तै निकुञ्जले गैँडा गणना गर्ने तयारी समेत गरेको छ, जुन अघिल्लो वर्ष बजेट अभावका कारण स्थगित भएको थियो।