सुन्तलाको मोहले गाउँसँग जोडिएका लोकनाथ: बसाइँ सरे पनि बगानमै बित्छ समय
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
804
Shares
बागलुङ | पछिल्लो समय सेवा–सुविधाको खोजीमा गाउँ रित्तिने क्रम बढ्दो छ। तर, बागलुङका ६० वर्षीय लोकनाथ कँडेलको कथा भने अलि फरक छ। १३ वर्षअघि बागलुङ बजार बसाइँ सरे पनि उनको मन र शरीर अझै गाउँकै सुन्तला बगानमा भेटिन्छ। सुन्तला खेतीप्रतिको अगाध मोहले उनलाई हरेक हप्ता आफ्नो पुर्ख्यौली थलो किमबोट पुर्याउने गरेको छ।
लोकनाथले साढे तीन दशकअघि वि.सं. २०४७ मा मात्र ३५ हजार रुपैयाँ खर्चेर ३० बोटबाट सुन्तला खेती सुरु गरेका थिए। अहिले उनको १४ रोपनी जग्गामा ३२० बोट सुन्तला छन्, जसमध्ये २५० बोटले उत्पादन दिइरहेका छन्। गत वर्ष १३ लाखको सुन्तला बेचेका उनले यस वर्ष अहिलेसम्म १५ लाख रुपैयाँको सुन्तला बिक्री गरिसकेका छन्।
पहिले कोदो र मकै फल्ने बारीमा अहिले लटरम्म सुन्तला फलेका छन्। उनले यही सुन्तला खेतीको कमाइबाट छोराहरूलाई पढाए, जो अहिले जापान, अमेरिका र पोर्चुगलमा छन्। "पहिले कोदो–मकैले खान पुग्दैनथ्यो, अहिले सुन्तलाले जीवन नै बदलिदियो," उनी खुसी हुँदै सुनाउँछन्।
गाउँका धेरै छिमेकी र आफन्त तराईतिर बसाइँ सरे पनि लोकनाथले भने सुन्तलाकै कारण बागलुङ छोडेर टाढा जाने आँट गरेनन्। बिरामी पर्दा उपचार गर्न सजिलो होस् भनेर मात्र उनी बजार झरेका हुन्। तर, उनको मुख्य सम्पत्ति र कर्मथलो गाउँकै सुन्तला बगान हो।
अहिले बिहुँ क्षेत्र 'सुन्तला गाउँ' का रूपमा चिनिन थालेको छ। चितवन र धादिङका व्यापारीहरू सुन्तला किन्न बारीमै पुग्छन्। यद्यपि, व्यापारीलाई बगानै सुम्पिँदा उचित मूल्य नपाउने पिरलो उनलाई अझै छ। राज्यले भण्डारण र बजारीकरणमा सहयोग गरिदिए कृषकले अझ धेरै लाभ लिन सक्ने उनको बुझाइ छ।