तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार राहदानी दस्तुर, सङ्घसंस्था दर्ता तथा नवीकरण र हातहतियार नवीकरण लगायतका शीर्षकबाट कुल एक करोड १८ लाख १५ हजार ८८५ रुपैयाँ राजस्व सङ्कलन भएको हो।
सङ्कलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा राहदानी दस्तुरको रहेको छ। राहदानीबाट मात्रै एक करोड ११ लाख ५८ हजार रुपैयाँ प्राप्त भएको छ। यसका अतिरिक्त हातहतियार नवीकरण र नामसारीबाट तीन लाख दुई हजार २५०, सङ्घसंस्था दर्ता तथा नवीकरणबाट दुई लाख पाँच हजार ७०० र न्यायिक दण्ड जरिवानाबाट एक लाख ३५ हजार ४३५ रुपैयाँ राजस्व सरकारी कोषमा जम्मा भएको प्रजिअ अधिकारीले जानकारी दिए।
राजस्व सङ्कलनसँगै कार्यालयले सेवाग्राहीका गुनासो सुनुवाइ र फछ्र्यौटलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। पहिलो त्रैमासिकमा विभिन्न माध्यमबाट कार्यालयमा कुल ६१९ वटा गुनासो दर्ता भएकामा ४३४ वटाको फछ्र्यौट भइसकेको छ। प्राप्त गुनासोहरूमध्ये सबैभन्दा बढी 'नागरिक एप' मार्फत ५७२ वटा उजुरी आएका थिए, जसमा ३८७ वटाको सम्बोधन गरिसकिएको छ।
त्यसैगरी, कार्यालयमा प्रत्यक्ष निवेदनमार्फत परेका ३४ र नियामक निकायबाट प्राप्त १३ वटा गुनासाहरू शतप्रतिशत फछ्र्यौट भएका छन्। सेवाग्राहीको सहजताका लागि कार्यालयले क्युआर कोड र हेलो सरकार जस्ता आधुनिक माध्यमको व्यवस्था गरे पनि ती माध्यमबाट भने हालसम्म कुनै गुनासो प्राप्त नभएको प्रशासनले जनाएको छ। प्रजिअ अधिकारीका अनुसार प्रविधिको प्रयोगमार्फत गुनासो गर्ने क्रम बढे पनि क्युआर कोडको प्रयोगमा भने अझै जनचेतनाको खाँचो देखिएको छ।