arrow

खोटाङमा पूर्वाधार विकासको 'जम्बो' प्याकेज: एक सय १२ आयोजनाको ठेक्का प्रक्रिया शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
Khotang-hamrakura.jpg.jpeg

खोटाङ । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले खोटाङ जिल्लाका ११२ वटा विकास आयोजनाका लागि ठेक्का आह्वान गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएका कुल १२३ आयोजनामध्ये पहिलो चरणमा ६६ करोड रुपैयाँ बराबरका आयोजनाको ठेक्का प्रक्रिया अघि बढाइएको हो।

भौतिक पूर्वाधार कार्यालय खोटाङका प्रमुख विनम दाहालका अनुसार ठेक्का आह्वान भएका आयोजनाहरूको निर्माण कम्पनीसँग सम्झौता गर्ने कार्य समेत तीव्र गतिमा अघि बढेको छ। "जग्गाको स्वामित्व र स्थानीय विवाद नभएका ११२ आयोजनाको प्रक्रिया शुरु भइसकेको छ," प्रमुख दाहालले भने, "विवाद रहेका बाँकी आयोजनाको पनि समस्या समाधान गरी चाँडै ठेक्का आह्वान गर्नेछौँ।"

जिल्लाभर १६४ आयोजना, सडक र पुलमा प्राथमिकता दश स्थानीय तह रहेको खोटाङमा यस वर्ष प्रदेश सरकारबाट कुल १६४ वटा आयोजनाका लागि १ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको छ। यस अन्तर्गत सडक कालोपत्रे, स्तरोन्नति, मोटरेबल तथा झोलुङ्गे पुल निर्माण, र सार्वजनिक भवन निर्माण जस्ता पूर्वाधारका कामहरू समेटिएका छन्। जिल्लामै सबैभन्दा बढी १० करोड रुपैयाँको बजेट 'रसुवाघाट–पाँचधारे सडक' निर्माणका लागि छुट्याइएको छ।

मन्त्री राईको सक्रियता र स्थानीयको उत्साह खोटाङ क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं वर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईको पहलमा जिल्लाले अहिलेसम्मकै ठुलो बजेट प्राप्त गरेको दाबी गरिएको छ। मन्त्री राईले जिल्लाका सबै स्थानीय तहलाई समेटेर बजेट विनियोजन गरेपछि खोटाङवासीले खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा स्थानीयहरूले बजेटको पारदर्शिता र गुणस्तरीय कार्यान्वयनमा जोड दिन मन्त्रालयलाई सुझाव समेत दिएका छन्।

भौतिक पूर्वाधार कार्यालयले समयमै ठेक्का आह्वान गरेपछि निर्माण व्यवसायीहरू पनि उत्साहित भएका छन्। कात्तिक २ देखि पुस ३ गतेभित्र ठुलो सङ्ख्यामा ठेक्का खुलेपछि यतिबेला कार्यालयमा सम्झौता गर्नेहरूको भिड लाग्ने गरेको छ। समयमै सम्झौता र निर्माण शुरु हुनाले चालु आर्थिक वर्षभित्रै धेरै आयोजना सम्पन्न हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ