arrow

पशुपालनमा सुरक्षित बन्दै तनहुँका कृषक: कुखुरादेखि माछासम्मको बिमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
local-chicken-81-01-27.jpg

तनहुँ। तनहुँ जिल्लाका कृषकहरू पशु बिमातर्फ आकर्षित हुन थालेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार जिल्लाभर हालसम्म ७१ हजार २१८ वटा विभिन्न जातका पशुको बिमा गरिएको छ।

पशुपालन व्यवसाय व्यावसायिक बन्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि कृषकहरू बिमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले बताए। बिमा गरिएका पशुहरूमा सबैभन्दा बढी ५९ हजार ९५९ वटा कुखुरा रहेका छन्। यस्तै, १ हजार ७४२ गाई, ७४० भैँसी, १ हजार ५८१ बाख्रा, ६९६ बङ्गुर र ६ हजार ५०० माछाको बिमा गरिएको कार्यालयको तथ्याङ्क छ।

बिमा गरिएका यी सम्पूर्ण पशुहरूको कुल मूल्याङ्कन २९ करोड ७५ लाख ४० हजार रुपैयाँ रहेको छ। यसमध्ये सबैभन्दा बढी गाईको १५ करोड ६७ लाख ८० हजार रुपैयाँ बराबरको बिमा भएको छ। पशु बिमाबापत कृषकहरूले गाईमा १५ लाख ६७ हजार, भैँसीमा ६ लाख ६६ हजार र कुखुरामा ३ लाख ४४ हजार रुपैयाँ प्रिमियम बेहोरेका छन्।

जिल्लामा पशुको कुल सङ्ख्या उल्लेख्य भए पनि बिमाको दायरा अझै बढाउनुपर्ने देखिन्छ। कार्यालयका अनुसार तनहुँमा झन्डै १० लाख कुखुरा, ३ लाख ८८ हजार बाख्रा र ५३ हजारभन्दा बढी भैँसी रहेका छन्। व्यावसायिक रूपमा पालिएका दुधालु गाई र भैँसीको सङ्ख्या ३५ हजार नाघिसकेकाले आगामी दिनमा बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने केन्द्रको लक्ष्य छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ