काठमाडौँ । सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, माघ १५ देखि १९ गतेसम्म गैँडाकोट नगरप्रज्ञा-प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा-प्रतिष्ठान-गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा गण्डकी प्रदेशका समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प-हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका कलाकृति राखिने जानकारी गराएका थिए ।
थुम्केलीका अनुसार प्रदर्शनीसँगै कला र कलाकार सर्वेक्षण, प्रदेश तथा स्थानीय तह एवं विभिन्न समुदायमा रहेका कला र कलाकारको पहिचान तथा तिनको महत्त्वलाई उजागर गर्ने यसको लक्ष्य रहेको छ ।
गैँडाकोट नगर प्रज्ञा-प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले गण्डकी प्रदेशका कलाकारको उत्सवका रूपमा प्रदर्शनी आयोजना गरिने बताए ।
गैँडाकोट नगरपालिका शिक्षा अधिकृत रामप्रसाद अधिकारीले प्रदेश प्रदर्शनीको अवसर दिएकोमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन् ।
गैँडाकोट नगर प्रज्ञा-प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले प्रदर्शनीलाई ऐतिहासिक उत्सवका रूपमा मनाउने गरी तयारी भइरहेको बताउँदै नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले आफूहरूलाई प्रेरित गरेको बताए ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा-प्रतिष्ठानको साझा उद्देश्य नेपाली ललितकला क्षेत्रको सर्वाङ्गीण विकासका लागि खोज-अनुसन्धान, प्रशिक्षण, कार्यशाला, गोष्ठी, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रदर्शनी तथा कलाकारको जीवन स्तर उकास्नका लागि विविध गतिविधि गर्ने रहेको छ ।
नेपाली ललितकलालाई देश विदेशसम्म पुर्याउने, सम्मान, कदर एवं पुरस्कार प्रदान गर्ने, पुस्तकालय, ग्यालरी, सङ्ग्रहालय आदि स्थापना गर्ने, सिर्जनावृत्ति/छात्रवृत्ति/विद्वत्वृत्ति प्रदान गर्ने, नेपालका रैथाने शिल्पज्ञान तथा कलाको संरक्षण, प्रवर्धन तथा विकासलगायतका ललितकलाका विविध पक्षमा कार्य गर्ने प्रतिष्ठानको उद्देश्य छ ।
‘प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ कोशीमा माघ २९ देखि फागुन ४ गतेसम्म, मधेसमा माघ १६ देखि २० गतेसम्म, बागमतीमा फागुन ८ देखि फागुन १२ गतेसम्म, लुम्बिनीमा माघ १७ देखि माघ २१ गतेसम्म, कर्णालीमा माघ १९ देखि माघ २३ गतेसम्म, सुदूरपश्चिममा माघ २१ देखि माघ २५ गतेसम्म हुनेछ ।