कुलमानको चेतावनी – देश पुरानै अवस्थामा फर्कियो भने ठूलो दुर्भाग्य [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
889
Shares
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दुको रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले यस्तो जोड दिएका हुन् ।
उनले फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै नभइ नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु बनाउनेतर्फ सबै अगाडि बढ्नुपर्ने खाँचो औँल्याए ।
उनले भने, ‘अहिले देशमा चुनावको माहोल बढिरहेको छ । जेन-जी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ, अवस्था जुन हिसाबले बनेको छ त्यसको मूल दायित्व भनेको चुनाव गर्ने हो । फागुन २१ मा चुनाव गर्ने हो । चुनावलाई, चुनावको रुपमा मात्रै होइन नयाँ शक्तिहरुको उदयको प्रस्थानविन्दु पनि हुनुपर्छ भन्ने सबैले कामना गर्नुपर्छ र यसतर्फ अगाडि बढ्नुपर्छ ।’
उनले देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, समृद्धिका लागि अघि बढ्ने मागमा जेन-जी आन्दोलन भएको भन्दै यसको परिणाम राम्रो आएन फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन नसक्ने बताए ।
‘सबै देशभित्र र देशबाहिरका सम्पूर्ण नेपालीहरूले अब एकताबद्ध भएर नयाँ शक्ति, नयाँ नेतृत्वहरुको समूह अघि बढ्नुपर्छ । युवा पुस्ता नेपालको समृद्धि र सुशासनका लागि अघि बढ्नुपर्छ । जेन-जी आन्दोलनको माग पनि यही हो’, उनले भने, ‘देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिका लागि अघि बढ्ने जुन मागमा जेन-जी आन्दोलन भयो, धेरै धनजनको क्षति भयो, कति शहीद भए, कति घाइते भए यसको परिणाम राम्रो आएन । फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैन ।’
देशलाई समृद्धतर्फ लैजान नयाँ युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि उनको भनाइ छ ।
उनले भने, ‘देशलाई माथि लैजान वा समृद्धतर्फ लैजान नयाँ पुस्ता वा युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । त्यसकारण यसतर्फ सम्पूर्ण नयाँ शक्ति र व्यक्तित्व जसले यो देशमा केही गरौँ भनेर काम गरिरहेको छन्, उनीहरू सबै एक भएर अघि बढ्नुपर्ने आजको आवश्यकता हो ।’
‘विगतमा विकृतिलाई सुधार गर्न उज्यालो नेपाल पार्टी जन्मियो’
उज्यालो नेपाल पार्टीको संयोजक अनुप उपाध्यायले विगतमा विकृतिहरूलाई सुधार गर्नको लागि जेन-जी आन्दोलन भएको भन्दै यसबाट माथि उठ्नुपर्ने आवश्यकता महसुस गरेर उज्यालो नेपाल पार्टीको स्थापना गरेको बताए ।
उनले भने, ‘हामी सँधै व्यवस्था परिवर्तनको मोडबाट नै गुज्रियौँ, तर जनताको अपेक्षा र चाहनाहरू थिए त्यो पूरा गर्न सँधै नै पछि पर्यौं । प्राथमिकतामा नै परेन, यसैको फलस्वरुप भदौ २३ र २४ को जुन आन्दोलन भयो र तिनै विकृतिहरूलाई सुधार गर्नको लागि जेन-जीहरूले आफ्नो ज्यान समेत पनि दिए । यो सबैको कारण पूरानो कार्यशैली नै हो । त्यसकारण हामीले अब यसबाट माथि उठ्नुपर्ने आवश्यकता महसुस गरेको हुनाले उज्यालो नेपाल पार्टीको स्थापना गरेको हो ।’